एथ्लेटिकोको जितमा सुआरेज नायक

एजेन्सी । उरुग्वेली स्ट्राइकर लुइस सुआरेज नायक बनेको खेलमा एथ्लेटिको म्याड्रिड विजयी भएको छ । मंगलबार राति भएको स्पेनिस लिग ला लिगा अन्तर्गतको खेलमा एथ्लेटिको म्याड्रिडले गेटाफेलाई २-१ गोलले पराजित गरेको हो ।

कोलिसेउम अल्फोन्सो पेरेज रंगशालामा भएको खेलमा एथ्लेटिको म्याड्रिडलाई जित दिलाउन लुइस सुआरेजले दुई गोल गर्दा एथ्लेटिकोको लागि स्टेफान मिट्रोभिकले एक गोल गरे । खेलको ४५ औं मिनेटमा माक्सिमोभिकको पासमा मिट्रोभिकले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएका थिए । ७४ औं मिनेटमा कार्लेस एलेना रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि गेटाफे १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि भने खेलमा एथ्लेटिको हाबी बन्यो । ७८ औं मिनेटमा हेर्मोसोको पासमा सुआरेजले गोल गर्दै एथ्लेटिकोलाई १-१ गोलको बराबरीमा ल्याए । यस्तै दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा भ्रासलिज्कोको पासमा सुआरेजले गोल गर्दै एथ्लेटिकोलाई २-१ गोलको जित दिलाए ।

जितसँगै एथ्लेटिको म्याड्रिड ६ खेलबाट १४ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । पराजित गेटाफेले ६ खेल खेलिसक्दापनि अङ्कको खाता खोल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *