भान्सामा एलपी ग्यास होइन, विद्युतीय चुल्हो राखौँ : ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले घरायसी उपभोगमा प्रयोग हुने विद्युत् महसुल दर घट्ने भएकाले भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्न अपील गरेकी छन् ।

उनले आफ्नै देशको उत्पादन विद्युत् उपभोग गरेर लाभान्वित हुन अपील गरेकी हुन् । ऊर्जा क्षेत्रमा उत्कृष्ट व्यावसायिक सीप केन्द्रको मंगलबार शुभारम्भ गर्दै उनले भनिन्, “घरायसी उपभोगको विद्युत् महसुल दरमा कम गरेको छु । नयाँ महसुल दर लागू भएपछि एलपी ग्यासभन्दा विद्युतीय चुल्हो सस्तो हुन्छ ।”

ललितपुरको थेंचोमा स्नाइडर इलेक्ट्रिक फाउन्डेशनले डन बोस्को इन्स्टिच्युटसँगको साझेदारीमा नेपालमा पहिलो पटक त्यस्तो केन्द्र शुभारम्भ गरिएको हो ।

आफ्नै देशमा उत्पादित विद्युत् खपत गरे चुलिएको व्यापारघाटा कम हुने विश्वास व्यक्त गर्दै मन्त्री भुसालले समृद्धिका लागि पनि विद्युत् उत्पादन र खपतलाई सरकारले केन्द्रमा राखेको बताइन् ।

नेपाल विद्युत् प्राधिकरणले २० युनिटसम्मको बिजुली निःशुल्क उपलब्ध गराउने र कृषि सिँचाइमा प्रयोग हुने विद्युत्मा सहुलियत दिने निर्णय गरेको जानकारी गराउँदै उनले यो निर्णय कार्यान्वयन भएसँगै जनताले राहत पाउने विश्वास व्यक्त गरिन् ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आफ्नो क्षेत्रमा ऊर्जाको उत्कृष्ट केन्द्र सञ्चालन भई दक्ष जनशक्ति उत्पादन हुनु गौरवको विषय भएको भन्दै त्यसका लागि थप सहयोग गर्न नगरपालिका तयार रहेको बताए ।

नेपालका लागि फ्रान्सका राजदूत जिल्लेस बोउडाओले केन्द्रको स्थापनासँगै रोजगारी सिर्जना र सीप विकासका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले डन बोस्को इन्स्टिच्युटले तयार पारेको जनशक्तिले देश विकासमा ठूलो मद्दत पुग्ने बताए ।

नेपाल डन बोस्को सोसाइटीका अध्यक्ष फादर अगष्टीले नेपालका ग्रामीण क्षेत्रमा जनशक्ति कम भइरहेको अवस्थामा केन्द्रमा उत्पादित जनशक्तिले गाउँशहरसम्म सेवा दिने बताए ।

उनले ऊर्जा क्षेत्रमा हरेक किसिमका जनशक्ति उत्पादन गर्ने विश्वास दिलाए । स्नाइडर इलेक्ट्रिक फाउन्डेशनका कार्यकारी प्रमुख अनिल चौधरीले ऊर्जाको उपयोग आधारभूत अधिकार भएको बताउँदै केन्द्रको स्थापनापछि दक्ष जनशक्ति उत्पादन हुनुका साथै देशमा व्यावसायिक सीप विकास हुने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *