राष्ट्रियसभामा विनियोजन विधेयक टेबुल, एमाले सांसदहरुद्वारा सभामुखको राजीनामा माग

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधकाबीच राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको विरोधकाबीच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष टेबुल गरेका हुन् ।

राष्ट्रिय सभा बैठकको प्रारम्भमा बोल्दै नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले लोकतन्त्र र पार्टीहरुलाई कमजोर बनाउनका लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको र अध्यादेश लागु गराउनका लागि सभामुखको भूमिका हुनु गलत भएको बताए ।

उनले नेकपा एमालेले कारबाही गरेका सांसदहरुको सूचना सभामुखले हालसम्म टाँस नगरेको भन्दै राष्ट्रिय सभा बैठकको अवरोध जारी राख्ने बताए । त्यस्तै एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख सापकोटाले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने माग गरे ।

गैर सांसदलाई सदनमा बस्न अनुमति सभामुखले दिएको भन्दै सडकदेखि सदनसम्म प्रश्न उठेको सांसद श्रेष्ठले बताए । सभामुखले राजीनामा नदिए वा सूचना नटाँसे सदन चल्न नसक्ने उनले जानकारी दिए ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बस्न आग्रह गरेका थिए । एमालेले विरोध जारी राखेपछि अध्यक्ष तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिएका थिए । विनियोजन विधेयक राष्ट्रिय सभामा पेस भएपछि बैठक असोज सात गतेसम्मका लागि स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *