ह्वाटमोरको सुखद बिदाई

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मुख्य प्रशिक्षक डेभ ह्वाटमोरलाई सुखद बिदाई गरेको छ । ओमानमा नेपाल, अमेरिका र घरेलु टोलीबिच जारी त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेलमा ओमानलाई ७ विकेटले पराजित गर्दै नेपाली टोलीले ह्वाटमोरलाई सुखद बिदाई गरेको हो ।

गत वर्ष डिसेम्बरमा ह्वाटमोर एक वर्षको लागि नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षको रुपमा अनुबन्ध भएका थिए । उनको प्रशिक्षणमा नेपालले तीन सिरिज खेलेको थियो । जनवरी २०२१ देखि टोलीलाई समालेका ह्वाटमोरको प्रशिक्षणमा नेपालले अप्रिलमा घरेलु मैदानमा भएको मलेसिया र नेदरल्यान्ड्स सम्मीलित टी-२० त्रिकोणात्मक सिरिज जितेको थियो ।

यस्तै ओमानमा नेपाली टोलीले पवुवा न्युगिनीसँग भएको दुई एकदिवसीय खेलमापनि सहज जित निकालेको थियो । त्यसपछि ओमानमै भएको आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । तर ओमान र अमेरिकासँगको दोस्रो र तेस्रो खेलमा हार बेहोरेको नेपालले चौथो खेलमा पछिल्लो ५ एकदिवसीय खेलमा अपराजित रहेको ओमानलाई हराएको थियो ।

६७ वर्षीय ह्वाटमोरले ओमान पुगेर मुख्य प्रशिक्षकको पदमा राजीनामा दिने भन्दै नेपाल क्रिकेट संघ(क्यान)लाई पत्र बुझाएका थिए । कोरोना महामारीको समयमा आफू परिवारसँग बस्न चाहेको कारणले पदबाट राजीनामा दिन लागेको उनले पत्रमा खुलाएका थिए ।

ह्वाटमोरले छोटो समयमै नेपाली समर्थकको मन मज्जाले जिते । कोरानाको कारण टोलीले धेरै प्रतियोगिताहरु खेल्न नपाएपनि गत अप्रिलमा भएको टी-२० त्रिकोणात्मक सिरिजमा नेपालले शानदार ब्याटिङ प्रदर्शन गरेपछि ह्वाटमोरले तारिफको ओइरो पाएका थिए । उक्त सिरिज नेपालले जितेको थियो । तर ओमानमा भएको एकदिवसीयमा नेपाली टोलीले सोही लयलाई निरन्तरता दिन भने सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *