USAID

हामी माथिका नेता विग्रिएका छौं, तल्लो तहका कार्यकर्ता होइनः प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा माओवादीको प्रभाव रहेकाले अलिकति मेहनत गरेमा आगामी निर्वाचनमा एक नम्बरको हुन सकिने बताएका छन् ।

सोमबार सहिद सूर्यनाथ रान यादवको ३६ औं स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले मुलुकको नेतृत्व गर्न पार्टीका नेता कार्यकर्तालाई मेहनत गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘हामीले नेतृत्व नगरे देश विगार्ने काम मात्र हुन्छ र भएको छ । हामीमा लागेको धुलोमैलो टक्टक्याएर उठ्यौं भने सकिन्छ । प्रतिक्रान्ति रोक्न माओवादी नलागेको भए देश वर्वाद हुन्थ्यो । त्यसैले जनतामा माओवादी प्रति विश्वास छ ।’ उनले माओवादी एमालेकरण हुन लागेकोमा चिन्ता व्यक्त गर्दै पद लोलुपता र गुट बनाउने काम बन्द गर्न आग्रह गरे ।

उनले नेता कार्यकर्तालाई आफैंबाट सच्चिने प्रण गर्न आग्रह गरे । उनले भने, ‘हामी माथिका नेता विग्रिएका छौं । तल्लो तहका कार्यकर्ता विग्रेका होइनन् । पहिले आत्समीक्षा गरौं र आफैंबाट सच्चिने प्रण गरौं ।’ उनले समाजवादी क्रान्ति अगाडि बढाउन जरुरी रहेको र त्यो माओवादीले मात्र गर्न सक्ने बताए । उनले माओवादीले आफ्नै पहिचान बनाउनुपर्ने बताए । उनले भने, ‘माओावदी समाजवादी हुन् भन्ने पहिचान बनाउनु पर्यो । नाम चाहिँ छ विज्ञापन जस्तो तर जनतालाई कांग्रेस एमाले र माओवादी चिन्न गाह्रो भएको छ । यही माओवादी भन्ने पार्टीले मात्रै समाजवादी क्रान्तिलाई अघि बढाउन सक्छ । हामीलाई आफूलाई देश बदल्ने अवसर छ ।’

उनले एमाले जस्तो जबजको मन्त्र जपेर नहुने भन्दै जनताको घरदैलोमा पुग्ने अभियानमा सक्रिय हुन आग्रह गरे । उनले भने,‘ मदन भण्डारी राष्ट्रवादी नेता थिए र उनको हत्या भयो । मदन भण्डारीको हत्याको अनुसन्धान आफू राष्ट्रपति र प्रधानमन्त्री हुँदा पनि गर्ने चासो गरेनन् । जबज भनेको छ मन्त्र जपेको छ । सकियो । माओवादी यस्तो हुनु भएन ।’

अध्यक्ष प्रचण्डले आफूलाई केपी ओली भ्रष्ट नेता हुन् भन्न सिकाउनेले अन्तिममा उनीसमक्ष आत्मसमर्पण गरेको भन्दै आश्चर्य प्रकट गरे । उनले भने, ‘ योगेश, घनश्याम कमरेडहरुले हो हामीलाई ओली भ्रष्टाचारी भनेर सिकाएका तर उनीहरुले आत्मसमर्पण गरे । यस्तो हाम्रोमा चाहिँ नहोस्।’ उनले माओवादी शक्ति एक हुन जरुरी रहेको बताए ।

उनले भने,‘ केपी ओलीले मुलुक ध्वस्त गर्न खोजेकै हो नि । अब चाहिँ फेरि एक पटक सबै बसेर समीक्षा गरी अगाडि बढौं । बाबुराम उपेन्द्र, किरण, विप्लव, मोहनविक्रम सिंह सबैले समीक्षा गर्नु जरुरी छ । एउटा ऐतिहासिक समीक्षा हुनेछ र हामी सवै एउटै केन्द्रमा हुनेछौं भन्ने छ ।’


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *