अख्तियारद्वारा एक सय बढीसँग बयान

धनगढी। कञ्चनपुरमा वर्षौंदेखि भूमाफियाको कब्जामा रहेको महेन्द्रनगर नगर विकास समितिको सयौं बिघा जग्गा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयबाट विशेष टोली महेन्द्रनगर आएर छानबिन गरिरहेको छ । बालुवाटारस्थित ललिता निवासको जग्गामा जस्तै अनियमितता भएको पाइएपछि अख्तियारको टोलीले विशेष छानबिन र अनुसन्धान गरेको हो ।

यसै क्रममा अख्तियारले जग्गा अनियमितता प्रकरणमा संलग्न रहेको आशंका गरिएका कर्मचारी तथा जग्गा कारोबार गर्नेहरूलगायत १०० जनाभन्दा बढीसँग बयान लिएको छ ।

जग्गा अनियमितताको विषय छानबिनका लागि भदौ तेस्रो साता कञ्चनपुर आएको अख्तियारको टोलीले उनीहरूसँग बयान लिएको हो । महेन्द्रनगर बजारको गुरुयोजनासमेत मिचेर समितिका पदाधिकारीले तोक आदेशका भरमा र प्रक्रिया नै पूरा नगरी जग्गा बिक्रीवितरण र लिजमा दिएका थिए । ६ सय ३८ बिघा जमिन रहेको सो समितिलाई हाल भीमदत्त नगरपालिकाको मातहत ल्याइएको छ ।

अख्तियार स्रोतका अनुसार हालसम्म समितिका कर्मचारीसहित जग्गा लिने १०० भन्दा बढीको बयान भइसकेको छ । केही ब्यक्ति बयान दिन आएका छैनन् । उनीहरूको नाम सार्वजनिक गरी बयानका लागि केन्द्रमै झिकाउने छानबिनमा संलग्न टोलीले जनाएको छ ।

त्यसैगरी, अख्तियारको टोलीले नगर विकाससँग सम्बन्धित कागजात मालपोत र नापी कार्यालयबाट झिकाएको छ । त्योबेला जग्गा बिक्रीवितरण गर्दा हस्ताक्षर गर्ने मालपोत र नापीका कर्मचारीलाई पनि बयानमा झिकाइने अख्तियार टोलीको भनाइ छ । यसरी जग्गा लिज र किनबेचमा राजनीतिक दलका नेता, समाजसेवी, व्यापारी, व्यवसायी, प्राध्यापक, विद्यार्थी नेता र सञ्चारकर्मीको संलग्नता देखिएको बुझिएको छ । सो मुद्दा सर्वोच्च अदालतमा समेत विचाराधीन अवस्थामा छ । जग्गा लिजमा लिनेले उपभोग गर्न नपाएको भन्दै मुद्दा दायर गरेका थिए ।

नापी विभागका उपसचिव पुष्कर चन्द नेतृत्वसहितको अख्तियार दुरुपयोग अनुसन्धानको विशेष टोलीले महेन्द्रनगर आएर छानबिन गरिरहेको हो । छानबिनका लागि विशेष टोलीलाई अख्तियार दुरुपयोग अनुसन्धानको सुदूरपश्चिम क्षेत्रीय कार्यालय महेन्द्रनगरले समेत सहयोग गरिरहेको छ ।

वर्षोंदेखि भूमाफियाको कब्जामा रहेको जग्गा विवादबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रमा गम्भीर प्रकृतिको उजुरी परेपछि अख्तियार नेतृत्वले यसलाई गम्भीर रूपमा लिएर छानबिनका लागि खटाएको जनाइएको छ ।

स्रोतका अनुसार भूमाफियाको कब्जामा रहेको जमिनलाई वारपार गरेर मात्र अख्तियारको टोली महेन्द्रनगरबाट फर्किनेछ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *