USAID

ओमानमाथि नेपालको शानदार जित


काठमाडौ । ओमानमा जारी नेपाल, अमेरिका र घरेलु टोलीबीच जारी त्रिकोणात्मक सिरिजमा नेपालले शानदार जित निकालेको छ । आइतबार बेलुकी भएको सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गर्दै लिगमा चौथो जित दर्ता गरेको हो ।

जितको लागि १ सय २२ रनको लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा ३ विकेटको क्षतिमा १ सय २२ रन बनाउँदै लक्ष्य भेट्टायो । नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धसतक पूरा गरे । उनले ४६ बलमा ४ चौका र २ छक्कासहित अविजित ५२ रन बनाए । ओपनर अरिफ शेखले ४४ बलमा ७ चौकासहित ४० रन जोद्डा कुशल भुर्तेल र रोहित पौडेलले समान ६÷६ रन जोडे । शरद भेषावकर १ रनमा अवजित रहे ।

ओमानको लागि नेस्टोर दहाम्बाले ३ ओभरमा १ मेडन राख्दै २० रन खर्चेर २ विकेट लिए । कालेनुल्लाहले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।

यसअघि अल अमेराट क्रिकेट मैदानमा भएको खेलमा स्पिनर सन्दीप लामिछाने र अलराउन्डर करण केसीले कसिलो बलिङ गरेपछि ओमान ३७.१ ओभरमै १ सय २१ रनमै समेटिएको थियो । ओमानका कप्तान जेसन माक्सोदले ६६ बलमा २ चौका र १ छक्कासहित ४१ रन बनाउँदा अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन । जातिन्देर सिंहले १३, नासेम खुशीले १२ र कालेनुल्लाहले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।

नेपालको लागि स्पिनर सन्दीप लामिछानेले ८.१ ओभरमा २ मेडन राख्दै १८ रन दिएर ४ विकेट लिए । करण केसीलेपनि ८ ओभरमा १ मेडन राख्दै २५ रन खर्चेर ४ विकेट लिँदा शरद भेषावकरले ६ ओभरमा १ मेडन राख्दै २१ रन दिएर २ विकेट लिए ।

जितसँगै नेपाल ८ खेलबाट ८ अङ्क जोड्दै लिगको चौथो स्थानमा उक्लिएको छ । पराजित ओमान १३ खेलबाट २० अङ्क जोड्दै शिर्ष स्थानमा यथावत छ । सिरिजमा ओमानको यो तेस्रो हार हो । अब भोलि हुने सिरिजको अन्तिम खेलमा ओमानले अमेरिकाको सामना गर्नेछ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *