USAID

नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय अधिवेशन माघमा


काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले आगामी माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने भएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनले केन्द्रीय कार्यसमितिको आठौं बैठकले ११ औँ राष्ट्रिय अधिवेशन आगामी माघ ७ र ८ गते काठमाडौंमा गर्ने जानकारी दिएको हो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाले अधिवेशनको निर्णय गर्न लाग्दै गर्दा संगठनको माइन्युट बुक, छाप र लेटर प्याड चोरी भएको र अहिले प्रहरीलाई छानबिनका लागि निवेदन दिएको बताए ।

उनले अधिवेशनको निर्णय हुनै लाग्दा संगठनका महासचिव र उपाध्यक्षहरु नै भागेको भन्दै जिम्मेवारी पदमा रहेको व्यक्तिबाट नै चोरी भएको हुनसक्ने आशंका गरे ।

संगठनबाट भागेका साथीहरुले नै एउटा कोठामा बसेर निर्णय निर्णय परिवर्तन गरेको आरोप लगाउँदै अध्यक्ष देवकोटाले भ्रममा नपर्न आग्रह गरे । कार्यक्रममा सह संयोजक तथा वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले संगठनलाई गतिशील बनाउनका लागि राष्ट्रिय महाधिवेशन गर्न लागेको बताए ।

उनले कोरोनासहित विभिन्न कारणले समयमै हुनुपर्ने राष्ट्रिय अधिवेशन हुन नसकेको भन्दै ११ औँ राष्ट्रिय अधिवेशन तय गरेको बताए । त्यस्तै अर्को पक्षले (माधव नेपाल समूह) पनि कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै संगठनको विधि, पद्धती र नीति विपरित गइ पदमा रहेका व्यक्तिहरुले पदको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ ।

पत्रकार सम्मेलनमा संगठन महासचिव शरणकुमार गुरुङ्गले कुनै पार्टी र नेताको मतियार भइ काम गरेको भन्दै संगठनका अध्यक्ष केदारप्रसाद देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्ष ललिकबहादुर महर्जन, उपाध्यक्ष रेणुका केसी, उपाध्यक्ष रामचन्द्र जोशी, उपाध्यक्ष नौतम पोखरेल, उपाध्यक्ष भवानी दाहाल र सह कोषाध्यक्ष गणेश आचार्यलाई पदबाट हटाएको बताए ।

उनले रिक्त अध्यक्ष पदमा रेवन्त गौतम, बरिष्ठ उपाध्यक्षमा मोहन गिरी, उपाध्यक्षमा सीता गुरुङ्ग वेदप्रसाद खतिवडा, हरिकाजी राई, हरिदत्त जोशी, जयकान्त झा, राजकुमार दास, नृपराज जोशी, भीमबहादुर बिष्ट, दयाराम खत्री र महासचिवमा शरणकुमार गुरुङ्ग, उपमहासचिवमा भवानी खतिवडा, सचिवमा प्रकाश राई, मधु मिजार, ओम कठायत र सहकोषाध्यक्षमा दिनेश लम्शाल लगायतलाई नियुक्त गरेको जानकारी दिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *