काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता महेन्द्र राय यादव सरकारमा कसको नेतृत्वमा जाने विषयमा पार्टीभित्र कुनै विवाद नभएको बताएका छन् । मन्त्रालयको भागबन्डा नै नभएको बेला नेतृत्वको विषयमा विवाद हुने प्रश्नै नउठ्ने उनको दाबी छ ।
नेता यादवले भने, “हाम्रो संसदीय दलको बैठकमा कसको नेतृत्वमा सरकारमा जाने विषयमा कुनै विवाद भएको छैन । अहिलेसम्म मन्त्रालयको भागबन्डाबारे नै छलफल भएको छैन । माधवकुमार नेपाल र उपेन्द्र यादवबीच मन्त्रालय भागबन्डामा द्वन्द्व भएको हल्ला गठबन्धनलाई कमजोर बनाउने हिसाबले आएको हो । माधव छलफल भएको छैन भने नेपालले के माग्नुभयो, उपेन्द्रजीले के माग्नुभयो ?”
गठबन्धनलाई टिकाउने, संसदलाई पूरा आयु चलाउने र लोकतन्त्र र संविधानलाई सही दिशा दिन पार्टी सरकारमा जाने पनि उनले बताए । पार्टी अध्यक्ष उपेन्द्र यादवले चाहँदासम्म्म सरकारमा जान कसैले रोक्न नसक्ने पनि उनको भनाइ छ । उनले थपे, “उहाँले जान चाहनुभयो भने स्वाभाविक हो । तर सहमतिकै आधारमा जाने हो ।”
एमसीसी देशको हितमा छ भने राष्ट्रिय सहमतिमा अघि बढाउँदा आफ्नो पार्टीलाई आपत्ति नहुने उनले बताए । उनले थपे, “यसमा पक्ष र विपक्षभन्दा पनि देशको हितमा छ भने सहमतिका साथ अघि बढ्नुपर्ने । यो विकास निर्माणको काम हो ।”
न्यूनतम साझा कार्यक्रममा सीमा विवाद कूटनीतिक माध्यमबाट हल गर्ने भनिएकाले अरु बखेडा झिक्नु नहुने उनले बताए ।