प्रतिनिधिसभा कुस्ती खेल्ने ठाउँ होइन, पहलमानी देखाउनलाई टुँडिखेल छँदै छः डा. खड्का

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. नारायण खड्काले प्रतिनिधिसभा कुस्ती खेल्ने ठाउँ नभएको बताएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् चल्न नदिने चर्चा चलिरहेका बेला नेता खड्काले आफूले गर्दा ठीक, अर्काले गर्दा बेठीक भन्ने दोहोरो मापदण्ड उपहासको विषय हुने दाबी गरे ।
डा. खड्काले भने, “प्रतिनिधिसभा कुस्ती खेल्ने ठाउँ होइन । बाहिर टुँडिखेल छ । पहलामानी गर्ने हो भने त्यहीँ गए भइहाल्यो । कुनै पनि विधेयकमा चित्त नबुझे भोट नदिए भइहाल्यो ।”
डा. खड्काले केपी ओलीले परिपक्व संसदीय अभ्यासको आशा गरेको पनि बताए । उनले थपे, “ओलीजी परिपक्व र संसदीय अभ्यासको नायक मानिनुहुन्छ । दुईपटक प्रधानमन्त्री भइसक्नुभएको छ । उहाँ सरकारमा रहेका बेला नेपाली कांग्रेसले भलाद्मी भएर संसदीय अभ्यास गर्यो । संसदीय अभ्यास र मर्यादालाई सभ्य तरिकाले पालना गरेकै हो । आफूले गर्दा ठीक, अरुले गर्दा बेठीक भन्न थाल्यौं भने उपहासको विषय हुन्छौं ।”
डा. खड्काले आजदेखि सुरु हुने संसद् विधेयक अधिवेशन भएको बताए । उनले भने, “राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय बनाउनुका साथै १५ वटा अध्यादेश प्रतिस्थापन गनुपर्ने छ । ५५ वटा विधेयक विचाराधीन छन् । प्रतिनिधिसभामा ४३ र राष्ट्रिय सभामा १२ वटा दर्ता भएका छन् । यसकै वरिपरिमा संसद् बस्ने भएकाले यसलाई विधेयक अधिवेशन भने हुन्छ ।”
प्रतिपक्षसँग चिसोपन आएको, एमाले फुटाउन किन अध्यादेश ल्याउनुभयो भन्ने प्रश्नमा उनले भने, “के हामीले माधव नेपाललाई जबर्जस्ती पाखुरामा समातेर दल विभाजन गराइदिएका हौं र ? उहाँहरुले स्वविवेकले दल विभाजन गराउनुभएको हो । पार्टीका साथीहरुलाई ओलीजीले पो सम्हाल्नुपर्ने हो । ओलीको दल विभाजनसम्बन्धी अध्यादेशले उपेन्द्र यादव र महन्थ ठाकुरको पार्टीे रातारात एक भयो, अहिले फुट्यो । सरकारलाई दोष दिनुको कुनै अर्थ छैन ।”
सभामुखले एमालेप्रति मर्यादित व्यवहार नगरेको प्रश्न उठेको छ नि भन्ने अर्को प्रश्नमा उनले भने, “सभामुखको जवाफ उहाँले नै दिनु होला । सभामुखले एकै घन्टामा टाँसिहाल्नुपर्ने थियो कि थिएन ? सायद सुवास नेम्बाङ र ओलीले पनि विचार गर्नुहोला । मिडियामा आएका कुरामा धेरै टिप्पणी किन गर्ने ?”
एमसीसी नेपाली कांग्रेस एक्लैको टाउको दुखाइको विषय नभएको र राष्ट्रिय मुद्दामा फरकफरक धारणा बनाउँदा सार्वभौमिकता कमजोर हुने डा. खड्काले बताए । उनले थपे, “एमसीसी बाबुराम भट्टराई, खिलराज रेग्मी, ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवा हुँदै ओलीको पालामा भएको कुरा हो । हामीले एमसीसी संसद्मा नलैजाऊ भन्दा पनि अमेरिकाले मानेको थियो । ओलीका विश्वासपात्र अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मै लैजान चाहनुभयो । सरकारमा बस्दा एउटा जिब्रो, बाहिर हुँदा अर्को जिब्रोजस्तो शेष नाग हुनुभयो ओली । नेपाली कांग्रेस एक्लैले एमसीसी पारित गर्न सक्दैन, गर्न आवश्यक पनि छैन ।”
अमेरिकी सेना आउँछ भन्नु हास्यास्पद भएको उनले बताए । डा. खड्काले थपे, “यहाँ अमेरिकी सेना किन आउने ? कुन हवाई मार्ग भएर आउने ? नेपालको हितमा छ भने लिऊँ, त्यसको रकमले सडक र प्रसारण लाइन बनाउने हो । एमसीसीबारे उठेका प्रश्नबारे अर्थ मन्त्रालयले अमेरिकालाई विभिन्न प्रश्न पठाएको छ । सन्तोषजनक जवाफ आयो भने पारित गरे भयो । झिनामसिना स्वार्थ छाडेर देश र जनतालाई केन्द्रबिन्दुमा राखौं । कोरोनाका बेला नौंटकी छाडौं ।”

यस्तो गरिरहँदा भोलि लगानी विश्व बैंक, एडीबी, आईएमएफले हात झिक्न सक्ने चेतावनी पनि उनले दिए । उनले भने, “विगतमा अमेरिकी सहयोग प्रभावकारी नभएकाले एमसीसी आएको हो । ब्याज नलाग्ने, सर्त नथुपार्ने र पाँच वर्षभित्र गर्नुपर्ने परियोजना हो एमसीसी । ३५ देशले लगिसके । दर्जन देशले दोस्रो पटक पनि लगिसके । हामीकहाँ चाँडै तीनचार हजार मेगावाट बिजुली आउँछ, अर्को वर्ष फेरि त्यति नै थपिन्छ । तिनलाई हामी खपत गर्न सक्दैनौं भनेर एमसीसी मागेका हौं । यस्ता कुरा नबुझी हल्ला गर्नु बेकार हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *