जुम्लामा अहिले स्याउको समय

जुम्ला । जुम्लाका किसानलाई यो समय स्याउ टिप्न भ्याइनभ्याइ छ। स्याउ टिपेर व्यापारीलाई बेच्न किसान लागि परेका छन्। स्याउको बगैंचामै व्यापारी पुगेर लिन थालेपछि किसानलाई निकै राहात मिलेको छ। अहिले बगैंचा राताम्य छन्। गाडी र झाडीमा समेत स्याउ नै स्याउ छ। जहाँतहीँ स्याउको सिजन हुँदा जुम्लाको सुरन्दरतामा साथ मिलेको छ।

स्याउ किसान जीवनबहादुर बुढा स्याउले जुम्लाको समृद्धि हासिल गरिरहेको बताउँछन्। ‘यो समय स्याउको हो। अहिले निरन्तर कर्णाली राजमार्गबाट स्याउ निर्यात भइरहेको छ,’ उनले भने। कर्णाली राजमार्ग हुँदै जुम्ला पुगेका आन्तरिक तथा बाह्य पर्यटक पनि स्याउ बगैंचामा पुगेर रमाउन थालेका छन्। उनीहरू बगैंचामा पुगेर स्याउको स्वाद लिने र रमाइलो गर्ने गरेको किसानको भनाइ छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार यो वर्ष स्याउ उत्पादनमा गिरावट आएको छ। तर कम उत्पादन भएपनि माग बढ्दो छ। जसका कारण किसान घाटामा पर्ने सम्भावना छैन।

यो वर्ष स्याउको क्षेत्रफल मुताविक स्याउ नपलेको बताइएको छ। तर मूल्य पनि कम छैन। जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले भने, ‘स्याउ उत्पादनको तथ्यांक संकलन हुँदैछ। हरेक स्थानीय तहका कृषि शाखासँग समन्वय भइरहेको छ। तर यो वर्ष ५ हजार मेट्रिकटनभन्दा बढी स्याउ उत्पादन नहुने अनुमान गरिएको छ ’

यसपटकको स्याउ पूर्ण रूपमा पाक्न पाएको छ। रङ भरिन पाएको छ। गुलियो मात्रा शतप्रशित रहेका प्राविधिकको भनाइ छ। कृषि विकास कार्यालयले भदौ १० गतेभन्दा अगावै किसानलाई स्याउ नटिप्न आग्रह गरेपछि यहाँको स्याउले पूर्ण रूपमा पाक्न पाएको हो।

अहिले बगैंचामै व्यापारीले प्रतिकेजी ६० रूपैयाँमा स्याउ खरिद गरिरहेका छन्। अहिलेसम्म दुई सय मेट्रिकटन स्याउ जिल्ला बाहिर निर्यात भएको बताइएको छ। यहाँको स्याउको लागि सबैभन्दा नजिकैको बजार सुर्खेत हो। त्यसपछि कोहलपुर, नेपालगन्ज हुँदै काठमाडौं र पूर्वको बजारसम्म जाने गरेको छ। नेपालगन्जमा जुम्ली स्याउको प्रतिकेजी १ सय ३० रूपैयाँ र सुर्खेतमा ९० देखि एक सय रूपैयाँसम्म प्रतिकेजी मूल्य छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *