११ प्रतिशतले बढ्यो निर्जीवन बीमा

काठमाडौं। नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीमध्ये १९ कम्पनीले चालू आवको पहिलो महीना (साउन) मा करीब ३ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । निर्जीवन बीमा व्यवसायसम्बन्धी बीमा समितिबाट प्राप्त साउन महीनाको विवरणले यस्तो देखाएको हो ।

हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाहेकका कम्पनीले साउनमा २ अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । साउनमा निर्जीवन बीमा कम्पनीहरूले २ लाख ४१ हजार ८३७ ओटा बीमालेख जारी गरेका छन् ।

समीक्षा अवधिमा निर्जीवन बीमा व्यवसाय १० दशमलव ७४ प्रतिशतले बढेको छ । गत आवको सोही महीनामा निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ७० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्जीवन बीमातर्पmको वृद्धिदर सामान्य देखिएको बताए ।

‘यसै पनि साउन आर्थिक वर्षको शुरुआती महीना भएका कारण यस समयमा व्यवसाय त्यति हँुदैन । समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूको वृद्धि राम्रो देखिएको छ । तर, त्यसको तुलनामा निर्जीवन बीमामा त्यति राम्रो वृद्धि देखिएन,’ उनले भने, ‘समीक्षा अवधिमा भएका प्राकृतिक प्रकोपका कारण व्यवसाय वृद्धिदर त्यति राम्रो देखिएन होला ।’ १० प्रतिशतको वृद्धिदरलाई नराम्रो पनि भन्न नसकिने उनको भनाइ छ ।

‘कोरोना महामारी अझै जारी छ । यो अवस्थामा व्यवसायमा ह्रास नै आएको छैन । यसलाई सकारात्मक रूपमा लिनुपर्छ,’ उनले भने । समीक्षा अवधिमा बीमाशुल्क संकलन गर्ने मामलामा शिखर इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । साउनमा उक्त कम्पनीले ३३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *