एमाले सदनमा कडारूपमा प्रस्तुत हुन्छः पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाबाट संवैधानिक भूमिका निर्वाह नभएको जनाउँदै आगामी दिनमा पार्टी सदनमा कडारूपमा प्रस्तुत हुने बताएका छन्।

एमालेनिकट युवा सङ्घ नेपालको टोखा नगरस्तरीय कमिटीको घोषणासभामा आज महासचिव पोखरेलले एमालेले कारबाही सिफारिस गरिएका १४ प्रतिनिधिसभा सदस्यसमेतलाई मान्यता दिई एमाले विभाजनमा गराउने काम भएकाले यसको प्रतिरोध गरिने जनाएका हुन् ।

एमालेले यही भदौ १ गते तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई पार्टीविरोधी कार्यमा संलग्न भएको र ह्विपको पालना नगरेका कारण कारबाही गर्न संसद् सचिवायलमा पत्र पठाएको थियो ।

उक्त पत्र विचाराधीन हुँदा राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेशबमोजिम नेता नेपालको नेतृत्वमा भदौ ९ गते निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई दल दर्ताको मान्यता दिएको थियो । यो विषयमा एमालेले सर्वोच्च अदालतमा रिट निवेदन पनि दिएको छ ।

महासचिव पोखरेलले एमालेले राजनीतिलाई सही बाटोमा ल्याउने जिकिर गर्दै हिजोभन्दा शक्तिशाली भएर पार्टी अगाडि बढ्दै राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय र समृद्धिको यात्रालाई निरन्तरता दिने जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *