दार्चुलाको आकाशमा बेलाबेलामा भारतीय हेलिकोप्टर

दार्चुला। भारतले दार्चुलाको अकाशमा तीन दिनदेखि लगातार हेलिकोप्टर उडाएको छ। बिनाअनुमति भारतीय हेलिकोप्टर बुधबार र बिहीबार दार्चुला सदरमुकाम खलंगाकै आकाशमा भारतीय हेलिकोप्टर उडाइएको थियो भने शुक्रबार महाकालीवारि व्यास गाउँपालिका–२ का आकाशमा भारतीय हेलिकोप्टर उडाइएको छ।

भारतले सीमावारि दार्चुलाको आकाशमा बिनाअनुमति सधैं पटकपटक हेलिकोप्टर उडाउने गरेको स्थानीय बताउँछन्। नेपाली सेनाको गुरु गोरख गुल्ममाथि पनि भारतीय हेलिकोप्टर उडाइएको थियो। अनुमतिबिना सदरमुकामकै आकाशमा हेलिकोप्टर उडाएपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारीले पिथौरागढ डिएम प्रशासनलाई बिहीबार लिखित पत्र पठाएर आपत्ति जनाएका थिए।

‘हाम्रो सदरमुकामकै अकाशमा बुधबार र बिहीबार भारतीय हेलिकोप्टर उडेको देखेपछि पिथौरागढ डिएम प्रशासनलाई हाम्रो भूमिमा हेलिकोप्टर नउडाउनु भनेर पत्र पठाएको हुँ,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भने। गृह मन्त्रालयमा समेत भारतीय हेलिकोप्टर उडेको जानकारी गराएको उनले बताए। अनुमतिबिना नेपाली भूभागमाथि हेलिकोप्टर उडाउन नपाइने उनले बताए। ‘ हेलिकोप्टरमा सदरमुकाममाथि उडाएर के निगरानी गर्न खोजेको हो रु उडाउन नपाउने ठाउँमा हेलिकोप्टर उडाइएको छ,’ प्रजिअ जोशीले भने, ‘अनुमति नमागी हाम्रो भूमिमा हेलिकोप्टर उडाउन पाइँदैन।’

नेपाली सेनाको गुल्मले आपत्ति जनाउँदै तत्काल रोक्ने गरी पहल थाल्न जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको थियो। भारतको धार्चुलाबाट भारतीय हेलिकोप्टर नेपाली ‘एयर स्पेस’ नाघेर सुरक्षा निकाय, सरकारी कार्यालय रहेको सदरमुकाममाथि उड्न थालेपछि बुधबार जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो। बैठकले भारतीय कदमप्रति आपत्ति जनाउँदै यस्तो गतिविधि रोक्न पहल गर्ने निर्णय गरेको थियो।

बिहीबार दार्चुला प्रशासनले भारतीय जिल्ला अधिकारीलाई पत्र पठाउँदै यो कदम तत्काल रोक्न भनेको हो। हेलिकोप्टर गैरसैनिक भए पनि भारतको कुन निकायले उडाएको भन्ने खुल्न बाँकी रहेको दार्चुला प्रशासनले जनाएको छ। नेपालको बाढी प्रभावित दुहुँ गाउँपालिका क्षेत्रमा नेपाली हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानी गर्नुपर्ने भएकाले दुवै देशबीच समन्वय नभई यसरी भारतीय हेलिकोप्टर नेपाली आकाशमा उडाइँदा दुर्घटनाको समेत जोखिम हुने गर्छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *