संक्रमण दर बढ्यो भने फेरि लकडाउन हुन्छः प्रजिअ पराजुली

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्य प्रोटोकल पालना हुने गरी सबै क्षेत्र, पेसा र व्यवसाय खुला गरेको बताएका छन् । कोरोना संक्रमण दर केही घटेकाले निषेधाज्ञा खुला गरे पनि बढेको खण्डमा लकडाउने हुने उनको जवाफ छ ।

“वैशाख १६ देखि लगाएको निषेधाज्ञा चार महिना भइसकेको छ । कोरोना संक्रमण दर ११ प्रतिशतमा सीमित रहेको, मृत्युदर घटेको र निको हुने दर बढेको सन्दर्भमा हामीले डीसीसीमा लामो समीक्षा गर्यौं । सिनेमा हल, रात्रिकालीन व्यवसाय, पर्यटन क्षेत्रमा रोगले भन्दा भोकले मर्न लागेको अवस्था आयो । हामीले कति बजेसम्म चलाउने भन्ने सम्बन्धमा छलफलका लागि व्यवसायलाई बोलाएका छौं । अब सबैले पेसा र व्यवसाय सञ्चालन गर्न पाउनुहुन्छ । तर आफैं सचेत र जिम्मेवार हुनुपर्यो ।” प्रजिअ पराजुलीले भने ।

हरेक मन्त्रालयले स्वास्थ्य प्रोटोकल तयार गरेकाले त्यसलाई पालना गर्नुपर्ने उनले बताए । उनले भने, “अहिले खोलेका सबै क्षेत्रमा अर्बौं लगानी छ । कतिले आत्महत्या गरे । सरकारले ती क्षेत्रलाई राहत प्याकेज दिन नसक्ने भएकाले निषेध हटायौं । वर्षभरि बन्द गरेर साध्य हुने कुरा होइन । भीडभाड नगरीकन पेसा र व्यवसाय चलाऔं । तर एउटा कुरा के ख्याल गर्नुपर्छ भने संक्रमण दर बढेको खण्डमा निषेधाज्ञा या लकडाउन हुन सक्छ ” ।

१८ वर्षमुनिका बालबालिकाले खोप नलगाएकाले तत्काल भौतिक रुपमा स्कूल खोल्न गाह्रो हुने प्रजिअ पराजुलीले बताए । तर काठमाडौं जिल्लाका गोकर्णेश्वर, शंखरापुरा, दक्षिणकाली नगरपालिकाले मोबाइल, ल्यापटप लगायत इन्टरनेटको पहुँच नभएका क्षेत्रमा डीसीसीको समन्वयमा विद्यालय खोेलेको उनको भनाइ छ । अघिल्लो महिना रोकिएको १२ कक्षाको परीक्षा माक्स लगाएर सञ्चालन हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *