USAID

अमेरिकी सैन्य जनरल मिलीले भने-तालिबान निर्दयी समूह हो

अमेरिकाका शीर्ष सैन्य जनरल मार्क मिलीले तालिबानलाई निर्दयी समूह भन्दै उनीहरू परिवर्तन हुन्छन् कि हुँदैनन् स्पष्ट नभएको बताएका छन् । यद्यपि भविष्यमा आतङ्कवाद विरुद्धको लडाइँमा उक्त इस्लामिक समूहसँग अमेरिकाले समन्वय गर्नसक्ने सम्भावना रहेको बताएका छन् ।

तालिबानलाई सत्ताच्यूत गर्नेगरी सुरु गरेको युद्ध समाप्त गर्दै अमेरिकाले मङ्गलवार अफगानिस्तानबाट पूर्ण रूपमा आफ्नो सेना फिर्ता गरेको थियो । यो सँगै अमेरिकाको सबैभन्दा लामो २० वर्षे अफगान युद्ध समाप्त भएको छ ।

अफगानिस्तानमा अहिले तालिबानको नियन्त्रण छ र उसले नयाँ सरकार घोषणा गर्ने ठानिएको छ । अमेरिकी फौजको अन्तिम टुकडीले अफगानिस्तान छाडेपछि जनरल मिलीले अमेरिकी रक्षामन्त्री लोयड अस्टिन सँगसँगै पहिलोपटक सार्वजनिक टिप्पणी गरेका हुन् ।

अचानक अमेरिकी फौज फिर्ता गर्ने निर्णयलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले देशभित्र र अमेरिकी साझेदार राष्ट्रबाट व्यापक आलोचना खेप्नु परेको छ । उक्त निर्णयका कारण अमेरिकी फौजले वर्षौँ तालिम दिएको र ठूलो धनराशि खर्चेको अफगान सुरक्षा फौजको अस्वाभाविक रूपमा पतन भएको थियो ।

तालिबानको नियन्त्रणमा भएको तीव्र बिस्तारले हजारौँ विदेशी नागरिक र उनीहरूका लागि काम गर्ने अफगानहरूको हतारहतार उद्धार गर्नुपरेको थियो ।

बुधवारको पत्रकार सम्मेलनमा जनरल मिली र रक्षामन्त्री अस्टिन दुवैले अफगानिस्तानमा काम गरेका र उक्त व्यापक उद्धारमा खटिएका सैनिकहरूको प्रशंसा गरे ।

जनरल मिलीले भने, ‘युद्धमा तपाईँले साँच्चै नै गर्नु चाहनु भएको कुरा हैन कि अभियान र फौजलाई पुग्ने क्षति कम गर्न सकिने जति काम गर्नुपर्छ।’

उनले भविष्यमा इस्लामिक स्टेटसँग आबद्ध आईएस–के विरुद्धको अभियानमा तालिबानसँग अमेरिकाले समन्वय गर्नसक्ने सङ्केत गरे । उक्त समूहले गत साता काबुल विमानस्थल बाहिर भएको आत्मघाती हमलाको जिम्मा लिएको थियो । त्यसमा १३ अमेरिकी सैनिकहरूसहित १७० जनाको ज्यान गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *