हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन

काठमाडौं । सरकारले हुम्लास्थित चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो ।

हुम्ला जिल्लाको नाङ्फा गाउँपालिकाको लुमी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सीमा विज्ञ रहेको समिति गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

त्यस्तै बैठकले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले कानुन विपरीत आफन्तको नाममा शेयर खरीद गरेको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र अर्का सदस्य नेपाल कानुन आयोगका सहसचिव अर्जुनककुमार खड्का रहेका छन् । प्रवक्ता कार्कीले धितोपत्र बोर्डसम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ अनुसारको कामका लागि समिति गठन गरिएको बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *