अर्थको ढिलासुस्तीले चिनी अझै महँगिने

काठमाडौं । हरेक वर्ष भन्सार छुटमा चिनी आयात गर्न अनुमति दिँदै आएको सरकारले यो वर्ष ढिलासुस्ती गर्दा चाडपर्वमा चिनीको अभाव हुने र मूल्य वृद्धि हुने देखिएको छ। चिनीको अभाव हुन नदिन र बजारमा मूल्य नियन्त्रण गर्न अर्थ मन्त्रालयले सरकारी स्वामित्वका कम्पनीलाई भन्सार छुटमा चिनी आयात गर्न अनुमति दिँदै आएको थियो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत छुटको चिनी आयात गर्न अनुमति माग गरे पनि अर्थले स्वीकृत दिएको छैन। दसैं, तिहारमा चिनी धेरै खपत हुन्छ। स्वदेशी उत्पादनले नपुग्ने भएकाले हरेक वर्ष भन्सार छुटमा चिनी आयात गरेर बिक्री गरिँदै आएको छ।

५० हजार मेट्रिक टन चिनी आयात गर्न प्रस्ताव पठाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन्। ‘५० हजार मेट्रिक टन चिनी आयातका लागि अनुमति माग गरेका छौं,’ केसीले भनिन्, ‘अर्थमा फाइल रोकिएको छ।’

चिनी उद्योगले समेत बजारमा चिनी कम हुने भएकाले ५० हजार टन सरकारी माध्यमबाट आयात गर्न अनुरोध गरेको केसीले बताइन्। ‘निजी क्षेत्रले पनि बजारको माग धान्न नसक्ने भएकाले सरकारी कम्पनीमार्फत ल्याउन भनेकाले अनुरोध गरिएको हो,’ केसीले भनिन्, ‘समयमा चिनी आयात गर्न नसके बजारमा भाउ बढ्छ।’

खाद्यले १० हजार र साल्ट ट्रेडिङले ४० हजार मेट्रिक टन आयातका लागि अनुमति माग गरेका छन्। साल्ट ट्रेडिङसँग चिनी स्टक सकिएपछि भाउ बढेर अहिले बजारमा किलोको ९० देखि ९५ रूपैयाँ पुगेको छ। साल्ट टे«डिङले ७९ रूपैयाँ ५० पैसा किलोमा बिक्री गरिरहेको छ। चाडपर्वमा धेरै खपत हुने भएकाले समयमै ल्याउन नसके अझै मूल्य बढ्ने देखिएको छ। सरकारी स्वामित्वका कम्पनीसँग चिनी सकिएपछि व्यापारीले मूल्य बढाएका थिए। विगतमा बजारमा चिनी ८५ रूपैयाँ किलोमा बिक्री हुँदै आएको थियो।

अब करिब दुई सय मेट्रिक टन चिनी मात्र मौज्दात रहेको साल्ट टे«डिङका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले बताए। ‘स्टक चिनी सकिन लागेको छ,’ झाले भने, ‘अझै अनुमति नपाउने हो भने बजारमा अभाव भएर मूल्य सय रूपैयाँभन्दा माथि पुग्छ।’ चाडपर्वलाई लक्ष्य गरेर चिनी ल्याउन ढिला भएको उनले बताए। चिनी सकिएपछि कर्पोरेसनले आफ्ना आउटलेटबाट बाहेक खुद्रा बिक्रेतालाई चिनी दिन छाडेको छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *