अफगानिस्तानबाट सेना फिर्ता गर्ने कदमको बाइडनद्वारा बचाउ

अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट आफ्ना सेनालाई फिर्ता गर्ने कदमकोे बचाउ गरेका छन् । अफगानिस्तानमा २० वर्ष लामो अमेरिकी उपस्थिति अन्त्य भएको भोलिपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अझै त्यहाँ बसिरहनुको अर्थ नभएको बताएका हुन् ।

उनले तालिबान शासनलाई छल्न अफगानिस्तानबाट बाहिर निस्कन चाहने एक लाख २० हजारभन्दा बढीको हवाई उद्धार गरेकोमा सेनाको प्रशंसा गरेका छन् ।

इस्लामिक विद्रोही समूह तालिबानले चाहिँ अमेरिकी बहिर्गमनलाई जितका रूपमा अर्थ्याउँदै उत्सव मनाएको छ । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको हमलापछि उसको नेतृत्वमा अफगानिस्तानमा अन्तर्राष्ट्रिय सेना प्रवेश गरेर तालिबान सत्तालाई अन्त्य गरिदिएको थियो ।

अमेरिकामा भएको आतङ्कवादी हमलाको जिम्मा लिएको अलकायदाको आधार उक्त देश रहेको भन्दै त्यसबेला अमेरिकाले हमला गरेको थियो । अचानक अमेरिकी फौज फिर्ता गर्ने निर्णयलाई लिएर बाइडनले देशभित्र र अमेरिकी साझेदार राष्ट्रबाट व्यापक आलोचना खेप्नु परेको छ ।

उक्त निर्णयका कारण अमेरिकी फौजले वर्षौँ तालिम दिएको र ठूलो धनराशि खर्चेको अफगान सुरक्षा फौजको अस्वाभाविक रूपमा पतन भएको थियो ।

तालिबानले पूरै देशलाई ११ दिनभित्र नियन्त्रणमा लिन सफल भएको थियो । गत अगस्ट १५ मा राजधानी काबुल प्रवेश गरेपछि अफगानिस्तानको शक्ति उसको हातमा पुगेको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *