USAID

काबुल विमानस्थल नजिकै फेरि विष्फोट

काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आइतबार फेरि ठूलो विस्फोट भएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका केही तस्बिरहरूमा धुवाँको कालो मुस्लो देखिएको छ । विस्फोटन भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पुष्टि गरेका बीबीसीले उल्लेख गरेको छ ।

विस्फोटनको कारण स्पष्ट भइसकेको छैन तर स्वास्थ्य मन्त्रालयका एक जना अधिकारीले विमानस्थल नजिकै रहेको एउटा घरमा रकेट ठोक्किएको जनाएका छन् । घटनामा मानिसहरू हताहत भए नभएको स्पष्ट भएको छैन ।

केही समय अघि मात्रै अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा पुनः हमला हुन सक्ने चेतावनी दिएका थिए । बाइडनले अमेरिकी कमान्डरहरूले आफूलाई चाँडोमा आइतबार नै पनि त्यस्तो हमला हुन सक्ने जानकारी दिएको जनाएका थिए ।

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई खतरा रहेकाले विमानस्थल क्षेत्रबाट बाहिर रहन भनेको छ । अमेरिका आफ्ना नागरिकलाई अफगानिस्तानबाट स्वदेश फर्काउने काम गरिरहेको छ ।

ब्रिटेनले भने आफ्ना सैनिकहरू र अधिकारीहरूलाई स्वदेश फर्काइसकेको छ । गत बिहीबार विमानस्थल नजिकै भएको एक आत्मघाती हमलामा कम्तीमा १७० जनाको ज्यान गएको थियो । हमलाको जिम्मेदारी इस्लामिक स्टेटको स्थानीय शाखा इस्लामिक स्टेट– केले लिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *