आर्सनलमाथि म्यानचेस्टर सिटीको फराकिलो जित

एजेन्सी । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा फराकिलो जित निकालेको छ । शनिबार बेलुकी भएको खेलमा १० खेलाडीमा समेटिएको लण्डन क्लब आर्सनललाई ५-० गोलले हराउँदै सिटीले लिगमा लगातार दोस्रो जित निकालेको हो । यससँगै आर्सनलले लिगको पहिलो तीनै खेलमा हार बेहोरेको छ ।

घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटीलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गर्दा इल्काय गुन्डोगान, गाब्रियल जेसस र रोड्रीले समान १/१ गोल गरे । पहिलो हाफको सातौं मिनेटमै गाब्रियल जेससको पासमा गुन्डोगानले गोल गर्दै सिटीलाई खेलमा अगाडि बढाएका थिए । १२ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

३५ औं मिनेटमा ग्रानिट जाका रातो कार्ड खाँदै मैदान बाहिरिएपछि आर्सनल थप दबाबमा परेको थियो । ४३ औं मिनेटमा ग्रिएलिशको पासमा जेससले गोल गर्दै सिटीलाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाए । ५३ औं मिनेटमा फेरान टोरेसको पासमा रोड्रिले गोल गर्दै सिटीलाई सहज जिततर्फ अगाडि बढाएका थिए ।

८४ औं मिनेटमा रियाद माह्रेजको पासमा फेरान टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५-० गोलको फराकिलो जित दिलाए । आर्सनलले सन् १९५४/५५ सिजनपछि पहिलो पटक लिगको शुरुवाती तीनै खेलमा हार बेहोरेको हो । जितसँगै सिटी ३ खेलबाट ६ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा रहेको छ । यता लिगको तीनै खेलमा पराजित आर्सनल लिगको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *