नेपालगञ्ज नाकाबाट एक अर्ब ५२ करोडको गेडागुडी आयात

नेपालगञ्ज । नेपालगञ्ज नाकाबाट एक वर्षमा एक अर्ब ५२ करोड ३७ लाख बराबारको गेडागुडी आयात भएको छ । आर्थिक वर्ष ०७६/७७ मा एक अर्ब १० करोड ८८ लाखको मात्र आयात भएको थियो ।

यसैगरी सोही नाकाबाट हरेक वर्ष चामल तथा चामलजन्य वस्तु आयातमा पनि वृद्धि हुँदै गएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा ८९ करोडको चामल आयात भएको छ । आर्थिक वर्ष ०७६/७७ भन्दा यो झण्डै २९ करोडभन्दा बढी हो ।

आर्थिक वर्ष ०७७/७८ मा ८८ करोड ९८ लाख ४२ हजार ९६ को ती खाद्यान्न आयात भएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष ०७६/७७ मा ६० करोड १० लाख १५ हजार १४४ रुपैयाँ बराबरको आयात भएको थियो । आर्थिक वर्ष ०७५/७६ मा ४९ करोड ७१ लाख १५ हजार आठ सय १३ को चामल आयत भएको देखिन्छ ।

नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ आयातमा पनि वृद्धि भएको छ । गत आर्थिक वर्षमा दुई अर्ब ४६ करोड ७० लाखको पेट्रोल आयात भएको उनले बताए । आर्थिक वर्ष ०७६/७७ मा एक अर्ब ९५ करोड ३९ लाखको आयात भएको थियो । “पेट्रोल र खाद्यन्न आयातमा वृद्धि हुनुले परनिर्भरता बढ्दै गएको छ भन्ने देखाउँछ,” उनले भने ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा चार अर्ब ८८ करोड ३९ लाख ८८ हजार मूल्य बराबरको चिनी तथा चिनीजन्य वस्तु आयात भएको छ । यो पनि आर्थिक वर्ष ०७६/७७ को तुलनामा धेरै हो । उक्त आर्थिक वर्षमा एक अर्व ४४ करोड ६२ लाखको ती वस्तु आयात भएको थियो ।

सिमेन्टको क्लिङ्कर आयातमा भने गिरावट आएको छ । गत आर्थिक वर्षमा ३९ करोड १२ लाखको क्लिङ्कर आयात हुँदा आर्थिक वर्ष ०७६/७७ मा ४१ करोड ९३ लाखका क्लिङकर आयात भएको थियो । “सिमेन्टको क्लिङ्कर आयातमा भने कमी देखिएको छ,” कार्यालय प्रमुख भण्डारीले भने, “लकडाउनका कारण सिमेन्ट कारखाना बन्द भएका कारण यस वर्ष भारतबाट क्लिङ्कर आयातमा कमी भएको हुनसक्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *