कांग्रेस अधिवेशन: उम्मेदवारी दर्ताबाटै करोडौं रुपैयाँ

काठमाडौं। सत्ताधारी दल नेपाली कांग्रेसले महाधिवेशनका लागि उम्मेदवारी दर्ताबाटै करोडौं रुपैयाँ संकलन गर्ने भएको छ । भदौ १८ गतेदेखि तल्लो तहको अधिवेशन गरी आगामी मंसिर दोस्रो सातासम्म केन्द्रीय महाधिवेशन गर्न लागेको कांग्रेसले उम्मेदवारी दर्ताका लागि १ सय देखि ३० हजार रुपैयाँसम्म शुल्क तोकेको छ ।

कांग्रेसको निर्वाचन निर्देशिकाअनुसार सबैभन्दा कम शुल्क वडा कार्यसमिति सदस्यको उम्मेदवारी दर्ताका लागि सय रुपैयाँ र सबैभन्दा बढी केन्द्रीय सभापतिका लागि ३० हजार रुपैयाँ शुल्क तोकेको छ । वडा सभापतिका लागि ५ सय, उपसभापति, सचिव र सहसचिवका लागि ३–३ सय रुपैयाँ शुल्क तोकेको छ । त्यसै गरी प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका लागि ५ सय र वडा कार्यसमिति सदस्यको उम्मेदवारीका लागि १ सय रुपैयाँ शुल्क तोकिएको छ ।

देशभर ६ हजार ७ सय ४३ वडा अधिवेशन हुँदै छ । वडा कार्यसमितिमा मनोनितबाहेक सभापति, उपसभापति, सचिवसहित कम्तीमा १५ जनाको कार्यसमिति निर्वाचित हुनेछ । १ सय ५० भन्दा कम क्रियाशील सदस्य भएको वडामा कम्तीमा ९ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । वडा कार्यसमिति निर्वाचनबाट मात्र कांग्रेसको करोडौं रुपैयाँ संकलन हुने देखिन्छ ।

गाउँरनगरपालिका अधिवेशनबाट पनि कांग्रेसलाई ठूलो धनराशी संकलन हुनेछ । गाउँपालिका कार्यसमिति निर्वाचनमा सभापतिका लागि २ हजार, उपसभापति, सचिव र सहसचिवका लागि १–१ हजार र कार्यसमिति सदस्यका लागि ५ सय शुल्क तोकिएको छ । नगरपालिका कार्यसमितिमा अझ बढी रकम शुल्क तोकिएको छ । नगरपालिका कार्यसमिति सभापतिका लागि ४ हजार रुपैयाँ छ भने उपमहानगरपालिका, महानगरपालिकाको सभापतिका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ । उपसभापति र सचिवको उम्मेदवारीका लागि नगरमा ३–३ हजार, सहसचिवका लागि २ हजार र सदस्यका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ । यसरी ७ सय ५३ स्थानीय तहमा हुने अधिवेशनबाट मात्रै करोडौं रुपैयाँ संकलन हुने देखिन्छ ।

प्रदेशसभा क्षेत्रीय कार्यसमितिअन्तर्गत सभापतिका लागि ५ हजार, उपसभापति र सचिवका लागि ३–३ हजार, सहसचिवका लागि २ हजार ५ सय र सदस्यका लागि २ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । कुल ३ सय ३ प्रदेशसभा क्षेत्रीय अधिवेशनमा प्रत्येक प्रदेशमा सभापति, उपसभापति, दुई सचिव, दुई सहसचिव, एक कोषाध्यक्ष र प्रदेश अधिवेशन प्रतिनिधि गरी १६ जना निर्वाचित हुनेछन् ।

त्यसै गरी, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा सभापतिका लागि ७ हजार, उपसभापति र सचिव पदका लागि ५–५ हजार रुपैयाँ तोकिएको छ । त्यसै गरी सहसचिवका लागि ४ हजार र सदस्यका लागि २ हजार रुपैयाँ तोकिएको छ । अधिवेशनमा १ सय ६५ निर्वाचन क्षेत्रमा ३ हजारभन्दा बढी उम्मेदवार हुनेछन् । आजको नेपाल समाचारपत्र दैनिकमा रामकृष्ण चापागाईंले खवर लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *