निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पार्टी परित्याग गर्नेलाई निष्कासन गर्ने निर्णय गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बिहीबार भएको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गरी नयाँ दलमा गएका पार्टीका नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले पार्टी परित्याग गरेकालाई निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई समेत दिने बताए । बैठकले यही भदौ ८ गते स्थायी कमिटी बैठकले गरेका निर्णयको अनुमोदनसमेत गरेको छ ।

पार्टी परित्याग गरेका कसैले भुल महसुस गरे सच्याएर आए पार्टी एकतामा फर्कन चाहनेलाई ढोका खुला राखिने उनको भनाइ छ । “उहाँहरु फर्कनु भयो भने हामी स्वागत गर्दछाँै”, उनले भने, “आफूलाई सुधार गरेर आउँछन् भने ती साथीलाई पार्टीमा जिम्मेवारीसमेत दिन्छौँ ।”

बैठकले १० बुँदे प्रस्ताव शीघ्र र प्रभावकारीरूपमा पार्टी एकताको मर्मलाई प्रतिविम्ब गर्ने गरी कार्यान्वयन गर्नेसमेत निर्णय गरेको उनले बताए । बैठकले निर्वाचन आयोगले पार्टीबाट हटाएर र अनुपस्थिति रहेका नेताको सनाखत गरेर पार्टी विभाजनमा सहयोगी बनेको निष्कर्ष निकालेको पार्टीका प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

“सनाखत भनेको त्यो व्यक्तिको हस्ताक्षर हो वा होइन भन्ने हो”, उनले भने “तर आयोगमा उपस्थित नभएका व्यक्तिको पनि सनाखत गरी आयोग दल विभाजन गर्न सहयोगी बन्यो । हामी यसको कानूनी प्रतिवाद गर्दछौँ।”

मङ्गलबार एमालेबाट अलग भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएको थियो । बैठकले पार्टीले कारवाही गरेर पठाएका सांसदको कारवाहीको सूचना सभामुख अग्निप्रसाद सापकोटाले अझै टाँस नगरेकाले संसदीय अभ्यासअनुसार प्रतिवाद गर्ने निर्णय गरेको उनले बताए ।

बैठकले १० बुँदे सहमति जनवर्गीय सङ्गठनमा कार्यान्वयन गर्नका लागि महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको छ ।

यही भदौ ८ गते एमालेको स्थायी कमिटी बैठकले पार्टीको सबै संरचना २०७५ जेठ २ गते अवस्थामा फर्काउने निर्णय गरेको थियो । दश बुँदे कार्यान्वयनमा समस्या आएमा उपाध्यक्ष भीम रावल, उमहासचिवद्वय पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्टसहितको सहजीकरण गर्नका लागि कार्यदल गठन गरेको छ ।

उनले बैठक पार्टीको आन्तरिक रूपान्तरणमा रहेकाले पार्टीलाई एकताबद्ध बनाउने बताए । एमालेले पार्टीको १०औँ राष्ट्रिय महाविधेशन आगामीमङ्सिर १० देखि मङ्सिर १३ गते र विधान अधिवेशन आगामी असोज ४ गतेदेखि असोज ६ गतेसम्म गर्ने निर्णय गरेको छ । एमालेले आगाी कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने भएको छ ।

बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी एकताका पक्षमा उभिने र विभाजनको विपक्षमा उभिनेलाई स्वागत गरे । बैठकमा बोल्ने सबै केन्द्रीय सदस्यले पार्टी एकता सुदृढीकरण गर्न सङ्कल्पसमेत व्यक्त गरेका थिए । बैठकले जनवादी गायक जेवी टुहुरेको निधनप्रति दुःख व्यक्त गरेको छ । एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमतिअनुसार पार्टी एकताबद्ध बनाउने विषयमा छलफल भएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *