भारत ७८ रनमै अलआउट

एजेन्सी । घरेलु टोली इङ्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारत ७८ रनमै अलआउट भएको छ । लिड्समा बुधबार दिउँसोबाट शुरु भएको टेस्टको पहिलो इनिङ्समा भारत ४०.४ ओभरमै ७८ रनमा समेटिएको हो ।

टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको भारत शुरुवात देखि नै कमजोर देखिएको थियो । पहिलो ओभरमै ओपनर केएल राहुललाई गुमाएको भारतले निरन्तर रुपमा विकेट गुमाएको हो । भारतको लागि रोहित शर्मा र अजिङ्के रहाणे बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् । रोहितले १ सय ५ बल खेल्दै १ चौकाको मद्दतमा १९ रन जोड्दा रहाणेले ५४ बलमा ३ चौका सहित १८ रन जोडे ।

यस्तै इशान्त शर्माले ८, कप्तान विराट कोहलीले ७, रविन्द्र जडेजाले ४, मोहम्मद सिराजले ३, ऋषभ पन्तले २ र चितेश्वर पुजराले १ रन जोड्दा राहुल, मोहम्मद शामी र जस्प्रित बुम्राले रनको खाता खोल्न सकेनन् ।

भारतलाई सस्तैमा समेट्न जेम्स एन्डरसनले ८ ओभरमा ५ मेडन राख्दै ६ रन दिएर ३ विकेट लिए । क्राइग ओभर्टनले १०.४ ओभरमा ५ मेडन राख्दै १४ रन दिएर ३ विकेट लिए । यस्तै रोबिन्सनले १० ओभरमा ३ मेडन राख्दै १६ रन दिएर २ विकेट लिँदा साम कुरानले समान ओभरमा २ मेडन राख्दै २७ रन दिएर २ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको इङ्ल्यान्डले ४.३ ओभरमा १९ रन जोडेको छ । हाल हासेब हमेद १४ र रोरि बेर्न्स ३ रन बनाएर क्रिजमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *