अब विकासका कामलाई गति दिने कोशिस हुनेछः प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनसहितका तीन जिल्लाको विकासका लागि वृहत्तर योजनाअन्तर्गत काम गर्नुपर्ने बताएका छन् ।

भरतपुर मेट्रो प्लाजा (बहुउद्देश्यीय भवन)को बुधबार शिलान्यास गर्दै अध्यक्ष प्रचण्डले चितवनको नवलपुरको दाउन्नेसम्म र मकवानपुरको हेटाँैडालाई जोडेर एउटै विकास प्राधिकरणको अवधारणाअन्तर्गत काम गर्नुपर्ने बताएका हुन् । उनले यी जिल्ला मिलाएर विकासको मोडालिटिमा जाँदा यहाँको शिक्षा, पर्यटन, कृषि, धार्मिक पर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र बन्ने विश्वास व्यक्त गरे ।

उनले भने, “चितवनका लागि मात्रै नभएर मकवानपुरको हेटौंडासम्म र नवलपुरको दाउन्नेसम्म एउटै विकास प्राधिकरणको अवधारणाअन्तर्गत विस्तारपूर्वक वृहत्तर योजनामा जानुपर्छ ।” आफूले यो सपना देखेको भए पनि यसअघिको सरकारले चितवन र म प्रतिको हेर्ने दृष्टिकोण फरक राखेका कारण काम हुन नसकेको उनले बताए ।

उनले भने, “अब विकासका कामलाई गति दिने कोशिस हुने छ ।” अध्यक्ष प्रचण्डले आफैले बनाएको प्रधानमन्त्री मप्रति नै सकारात्मक नहुँदा यहाँको विकासमा समस्या आएको उल्लेख गर्दै जसले गठबन्धनबाट देशमा राजनीतिक स्थायित्व र विकास हुन्छ भनेर लाग्यो त्यहीमाथि प्रहार र निषेधको खेल भएको बताए । नेपालको परम्परागत राज्य व्यवस्था र संरचनाका कारण निजी क्षेत्रलाई सकारात्मक ढङ्गले हेर्ने काम नभएकाले यहाँको विकास निर्माणपछि परिएको उनले बताए ।

उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई सकारात्मक ढङ्गले हेर्ने र उनीहरुसँग भएको साधनस्रोत र क्षमताको अधिकतम प्रयोग गर्न उदारतापूर्वक आउने गरेको इतिहास होइन । हाम्रो पूरै नकारात्मक उदाहारण र विगत छ ।”

संविधानमा नै सार्वजनिक, निजी र सहकारीको संयोजनमा नेपालको विकासको मोडेल समाजवाद उन्मुख हुने छ भनेर लखे पनि व्यवहारिक रुपमा त्यस्ता आयोजना अघि बढ्न र निजी क्षेत्रसँग भएको साधनस्रोत परिचालन गर्नमा राज्य राम्रोसँग अघि आउन नसकेको उनले बताए । अध्यक्ष प्रचण्डले भने, “अबको समय सामाजिक न्यायसहितको विकासमा लाग्नुपर्छ ।”

सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजा आर्या बिल्डर्स एण्ड इञ्जिनीयरिङ प्रालिले भरतपुर महानगरपालिका–३ लायन्सचोकमा निर्माण र सञ्चालन हुने गरी सम्झौता भएको छ । सम्झौताको मितिले निर्माणका लागि तीन वर्षसहित ३० वर्षपछि भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने छ ।

निर्माणाधीन बहुतले भरतपुर मेट्रो प्लाजामा दुई तला अन्डर ग्राउन्ड पार्किङसहित १४ तलाको हुने छ । तीन लाख २५ हजार वर्ग फिट र ५१ मिटर उचाइ रहने सो प्लाजामा पाँच तारे होटलदेखि सिनेमा हल, फुट कोर्टका साथै व्यावसायिक स्थल हुनेछन् ।

आयोजनाको निर्माण आर्या बिल्डर्सले गर्नेछ भने यसको अनुगमन र नियमन भरतपुर महानगरपालिकाले गर्ने छ । भरतपुर मेट्रो प्लाजा ११ कठ्ठा ७ धुर क्षेत्रफलमा निर्माण हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *