USAID

मेरै सहमतिमा अष्टलक्ष्मी मुख्यमन्त्री बन्नु भएको होः माधव नेपाल


काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै सहमतिमा अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनेको बताएका छन् ।

काठमाडौंको चन्द्रागिरिमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले अष्टलक्ष्मीलाई सहयोग गर्ने/नगर्ने भन्ने कुरा केही दिनपछि थाहा हुने बताए ।

उनले अहिले मुख्यमन्त्री अप्ठेरोमा रहेको पनि बताए । उनले भने, ‘मेरो सहमतिमै अष्टलक्ष्मी मुख्यमन्त्री बन्नुभएको हो, तर अहिले अप्ठेरोमा हुनुहुन्छ, । २१ दिनभित्र कता रोज्नु हुन्छ, त्यसपछि सरकारलाई सहयोग गर्ने नगर्ने निर्णय लिन्छौँ ।’

अध्यक्ष नेपालले आफूहरुलाई घर न घाटको बनाउने षड्यन्त्र हुँदै आएकोमा त्यसलाई चिरेर आफूहरुले नयाँ पार्टी गठन गरेको बताए । उनले केपी शर्मा ओलीले नेकपा एमालेलाई प्राइभेट कम्पनी बनाउन थालेपछि आफूहरुले पार्टीमा विद्रोह गरेको स्पष्ट पारे । उनले आफूहरुले ओलीको गलत प्रवृत्तिविरुद्ध विचार, मूल्य र मान्यताको लडाई लडेको पनि बताए ।

अध्यक्ष नेपालले ओलीको नेतृत्वमा एमालेमा कुनै सुधारको लक्षण नदेखिएका कारण आफूहरुले नयाँ राजनीतिक शक्ति निर्माण गरेको उल्लेख गरे । उनले पार्टीलाई एक हुन नदिने र विभिन्न बहाना बनाएर अल्झाइराख्ने नियत देखिएपछि आफूहरुले पार्टीमा विद्रोह गर्दै नयाँ पार्टी गठन गरेको बताए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *