काठमाडौं। नेपाली बजारमा नक्कली नोटको सञ्जाल बढ्दै गएको पाइएको छ । प्रहरीले पाँच वर्षको अवधिमा तीन करोड ३१ लाख रुपियाँ बराबरको नक्कली नोट बरामद गरेको छ ।
आर्थिक वर्ष २०७४/७५ मा दुई करोड ६४ लाख ८८ हजार ६७० रुपियाँ बराबरको नक्कली नोट बरामद भएपछि यस्ता नोटका कारोबारीविरुद्ध प्रहरीले आक्रामक अभियान थालेको थियो । सो वर्षमा ३७ जना कारोबारी पक्राउ परेका थिए । तीमध्ये आठ जना विदेशी नागरिक थिए । प्रहरीले त्यस वर्ष २१ वटा मुद्दा दायर गरेको थियो ।
चाडपर्व नजिकिँदै गर्दा नेपालका प्रमुख सहरमा नक्कली नेपाली नोटका कारोबारी सक्रिय हुने गरेका छन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार बितेका पाँच वर्षमा नेपालमा नक्कली नोटको कारोबार बढ्दै गएको पुष्टि हुन्छ । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले भारतमा छपाइ भई नेपालमा नक्कली नोट भित्रिने गरेको बताए ।
आर्थिक वर्ष २०७७/७८ मा ४० लाख ५९ हजार छ सय रुपियाँ नक्कली नोट बरामद भएको थियो । उनले उपभोक्तामा नक्कली नोटसम्बन्धी ज्ञानको कमी भएका कारण नै यसको कारोबार बढेको हुनसक्ने बताए । प्रहरीका अनुसार पाँच वर्षमा प्रहरीले नक्कली नोटको कारोबारीमा संलग्न २५५ जनालाई पक्राउ गरेको छ । नक्कली नोटको कारोबारमा संलग्न १७२ बटा मुद्दा प्रहरीले दायर गरेको छ ।
पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्लका अनुसार नेपालमा नक्कली नोट छाप्न भारतको जस्तो मेसिनको प्रयोग नभएकाले सामान्य फोटोकपीबाट छापेका नोटहरूकै सङ्ख्या धेरै देखिएको छ । एक वर्षअघि काठमाडौँको शान्तिनगरमा स्टेसनरीबाट नक्कली नेपाली नोट र नोट छाप्ने उपकरणसहित एक जना पक्राउ गरिएको थियो ।
प्रहरीका अनुसार विशेष गरी महìवकाङ्क्षी युवा सङ्गठित रूपमा नक्कली नोट छाप्नेदेखि कारोबारमा लागेका छन् । कारोबारीहरूले मुख्य गरी भीडभाडमा किनमेल गर्दा वा धेरै रुपियाँको कारोबार गर्दा बीचमा नक्कली नोट घुसाएर बजारमा पठाउने गरेको पाइन्छ । गोरखापत्र दैनिकबाट