यस्तो छ कांग्रेस महाधिवेशन तालिका

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि सरेको छ । कांग्रेसले १८ भदौबाट तल्ला तहका अधिवेशन सुरु गर्नेगरी महाधिवेशनको नयाँ कार्यतालिका ल्याएको हो । नयाँ कार्यतालिका अनुसार १४औं महाधिवेशन ९ देखि १३ मंसिरसम्म तोकिएको छ ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबारबाट सुरु भएर शनिबार सम्पन्न भएको केन्द्रीय समिति बैठकले १६ देख १९ भदौका लागि तोकिएको महाधिवेशनलाई मंसिरमा गर्नेगरी सार्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा प्रकाशसरण महतले जानकारी दिए ।

नयाँ कार्यतालिका अनुसार अब केन्द्रीय महाधिवेशन ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुने तय भएको छ । यसैगरी, कांग्रेसको सबैभन्दा तल्लो तहको संरचना मानिने वडा तहको अधिवेशन १८ भदौमा हुनेछ ।

यस्तै, वडा अधिवेशन १८ भदौ, गाउँ तथा नगर अधिवेशन २७ भदौ, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन १ असोज, संघीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोज, जिल्ला अधिवेशन १० असोज र प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्मका लागि तोकिएको छ ।

नयाँ कार्यतालिका अनुसार २ भदौसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । सोही दिन नै निर्वाचन निर्देशिकालाई अन्तिम रूप दिने कांग्रेसको नयाँ कार्यतालिकामा उल्लेख छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *