६ हजार रोपनी सरकारी जग्गा अतिक्रमण

काठमाडौं । गाई आनुवंशिक स्रोत केन्द्र जिरीको नाममा रहेको ६ हजार ६३ रोपनी जग्गामा तत्कालीन गाउँपालिकाका कर्मचारी, स्कुलका प्रतिनिधि तथा स्थानीय जग्गा कारोबारीले अतिक्रमण गरी बस्ती बसालेको पाइएको छ। गाई आनुवंशिक स्रोत केन्द्र कृषि मन्त्रालय, पशु सेवा विभागअन्तर्गत पर्छ।

राष्ट्रिय सतर्कता केन्द्रको विस्तृत अध्ययन प्रतिवेदनअनुसार दोलखाको जिरी नगरपालिका (साबिकका जिरी, माली र श्यामा गाउँ विकास समिति), रामेछापको गोकुलगंगा गाउँपालिका (साबिकको चुचुरे गाउँ विकास समिति) र उमाकुण्ड गाउँपालिका (साबिकको बाम्ती गाउँ विकास समिति) मा रहेको गाई आनुवंशिक स्रोत केन्द्रको ७ हजार ६ सय ५९ दशमलब ८ रोपनी जग्गामध्ये ६ हजार ६३ दशमलब ४८ रोपनी अतिक्रमण गरिएको छ।

प्रतिवेदनअनुसार सुरुमा उक्त जग्गा जिरी बहुमुखी कृषि फारामको स्वामित्वमा थियो। त्यसपछि उक्त जग्गा पशु विकास फाराम जिरीको नाममा आयो। अहिले उक्त जग्गा गाई आनुवंशिक स्रोत केन्द्र जिरीको नाममा छ। केन्द्र उन्नत जातका गाई प्रजनन गर्ने उद्देश्यबाट स्थापना गरिएको हो ।

गाई आनुवंशिक स्रोत केन्द्रका नाममा जग्गाधनी प्रमाणपुर्जा भएको १ हजार ५ सय ४६ दशमलब ३२ रोपनी जग्गा मात्र अतिक्रमित नदेखिएको सतर्कता केन्द्रले जनाएको छ । तर आनुवंशिक स्रोत केन्द्रको नाममा नापनक्सा भएको तर जग्गाधनी प्रमाणपत्र पाउन बाँकी रहेको ५ हजार १ सय २८ दशमलब ८६ रोपनी जग्गा पूरै अतिक्रमण गरिएकोे प्रतिवेदनमा उल्लेख छ। यसैगरी नापनक्सा छुट भएको ९ सय ८४ दशमलब ६२ रोपनी जग्गामध्ये करिब ५० रोपनीबाहेक सबै अतिक्रमण गरिएको किटानी प्रतिवेदनमा गरिएको छ।

साबिकको जिरी बहुमुखी विकास योजना कृषि फारामको नाममा दर्ता भई २०४४ साल भदौ २५ गते सरकारको निर्णय र मालपोत कार्यालय रामेछापको मिसिल नम्बर ९१ को आदेशानुसार सिद्धेश्वर माविले उपभोग गर्नेगरी गाउँ विकास समितिको कार्यालय, बाम्तीलाई जिम्मा दिने निर्णय गरिएको रामेछाप साबिक बाम्ती गाउँ विकास समिति–३ (हाल उमाकुण्ड गाउँपालिका–२) स्थित ३ क सिट नम्बर र ८२ कित्ता नम्बर रहेको ५४ रोपनी ८ आना १ दाम जग्गाको हकमा सिद्धेश्वर माविले आफै भोगचलन गरेको नदेखिएको प्रतिवेदनमा जनाइएको छ । उक्त जग्गामा बस्ती र बजार बसाउन घडेरी बनाई वितरण गर्ने काममा साबिकको बाम्ती गाउँ विकास समितिको कार्यालयका कर्मचारी तथा सिद्धेश्वर माविको समेत संलग्नता रहेको देखिएको छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *