काठमाडौं, साउन ३० । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि शुरु हुने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजदेखि शुरु हुने केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्देछन् । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।
यस्तै, माओवादी केन्द्रले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नोतर्फबाट अधिकतम प्रयास गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए ।