जयनगर–कुर्था रेलः कोंकण रेल्वेले अग्रिम भुक्तानी माग्यो

काठमाडौं। भारतीय कोंकण रेल्वे कर्पोरेसन लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई पत्र लेखेर जयनगर–कुर्था रेल सञ्चालन तथा व्यवस्थापन बापतको अग्रिम भुक्तानी तत्कालै उपलब्ध गराउन अनुरोध गरेको छ।

कोंकण कर्पोरेसन लिमिटेडका चिफ मेकानिकल इन्जिनियर दिनेश त्रिपाठीले बुधबार नेपाल रेल्वे कम्पनीका महाप्रबन्धकलाई पत्र लेखेर यथाशीघ्र जयनगर–कुर्था रेलसेवा सञ्चालन बापतको २० प्रतिशत अग्रिम भुक्तानी गर्न अनुरोध गरेका छन्।

कम्पनीले दुईपक्षीय ठेक्का सम्झौता अनुसारको २० प्रतिशत अग्रिम भुक्तानी गर्न अनुरोध गरेको हो। नेपाल रेल्वे कम्पनी र भारतीय कोंकण रेल्वे कर्पोरेसन लिमिटेडबीच रेल सेवा सञ्चालन, मर्मतसम्भार, नेपाली कर्मचारीलाई तालिम तथा भारतीय रेलका चालक लगायतको खर्चको लागि २२ करोड भारुमा सम्झौता भएको थियो।

सम्झौता अनुसार नेपालले २० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्नेमा अहिलेसम्म गरेको छैन। नेपाल रेल्वे कम्पनीका पूर्वमहाप्रबन्धक गुरूप्रसाद भट्टराईले सरकारले ठेक्का सम्झौताअनुसार भारतीय कम्पनीलाई भुक्तानी नगरेको खण्डमा ठेक्का रद्द हुन सक्ने बताए। ‘मैले आवश्यक प्रक्रिया पूरा गरेर ठेक्का सम्झौता अनुसारको २० प्रतिशत अग्रिम भुक्तानी गर्न खोजेको बेला सरकारले स्पष्टीकरण सोधेपछि भुक्तानी प्रक्रिया रोकिएको हो,’ उनले भने, ‘अहिले त मैले राजीनामा दिइसकें। त्यसैले नेपाल सरकारले यो रेल सञ्चालन गर्ने भए पूर्ववत् रूपमा भएको ठेक्का सम्झौता अनुसार भारतीय कम्पनीलाई भुक्तानी गर्नुपर्छ।’ नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *