विवेकशील साझामा नयाँ प्रस्ताव

काठमाडौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक गरेको दस्तावेजको विपक्षमा संयोजक मिलन पाण्डेसहितका चार नेताले ‘वैकल्पिक राजनीतिको मूल बाटो’ प्रस्ताव ल्याएका छन्।

मंगलबार विवेकशील साझा पार्टीका संयोजक पाण्डेसहित केन्द्रीय सचिवालय सदस्यहरू केशव दाहाल, रञ्जु दर्शना र राजेन्द्र पंगेनीले संयुक्त रूपमा नयाँ प्रस्ताव सार्वजनिक गर्दै मिश्रको व्यक्तिगत धारणा पार्टीको सिद्धान्तविपरीत भएको भन्दै कडा आलोचना गरेका थिए।

केही दिनअघि व्यक्तिगत धारण भन्दै मिश्रले संघीयताको खारेजी, धर्म निरपेक्षतामा जनमत संग्रह र राजतन्त्रको पक्षपोषण ‘मार्ग परिवर्तन’ नामक दस्तावेज प्रस्ताव गरेका थिए। ‘अध्यक्षको प्रस्तावले पार्टीमा वैचारिक टकराबको स्थिति सिर्जना गरेको छ,’ उनीहरूले खण्डन गरेका छन्, ‘पार्टीले उपलब्धि हासिल गरेन भन्ने एउटा बुझाइ छ। अब के गर्ने त? पार्टी पनि खारेज गर्ने ?’

सो प्रस्तावमा मिश्रको धारणाले वैकल्पिक राजनीतिलाई गलत दिशामा लैजाने भन्दै गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा र संघीयतामा सुधारको विचार बोकेको नयाँ प्रस्ताव अघि सारेका छन्। पार्टी स्थापना गर्दा जारी गरेको घोषणापत्र, विधान, पार्टीले बनाएका पछिल्लो समयका दस्तावेजहरू, पछिल्लो निर्वाचन घोषणापत्र र केही महिनाअघि मात्र विवेकशील नेपाली दल र साझा पार्टी एकीकरण हुँदा गरिएको एकताको घोषणापत्रमा यस्ता विषयमा आफूहरू प्रतिबद्ध भएको उनीहरूले जनाएका थिए।

‘हाम्रो पार्टी जनआन्दोलनका उपलब्धिहरूको जगमा बनेको पार्टी हो,’ प्रस्तावित दस्तावेजमा उल्लेख गरिएको छ, ‘हामीले पार्टी स्थापना गरिरहँदा, यो पार्टीले मूलतः नेपालमा राजनीतिक आन्दोलनको युग सकिएको, ७० वर्षको बलिदानबाट पछिल्लो परिवर्तन प्राप्त भएको, संविधान सभाबाट संविधान बनेको र नयाँ, आधुनिक र लोकतान्त्रिक युग प्रारम्भ भएको निष्कर्ष निकालेका हौं । त्यही निष्कर्षका आधारमा हामीले सुसंस्कृत राजनीति र समतामूलक संवृद्धिका लागि कल्याणकारी लोकतन्त्रको प्रस्ताव गरेका हौं।’

उनीहरूले लोकतान्त्रिक पार्टीको रूपमा स्थापित गर्ने संकल्प गरेपनि पूर्ण लोकतान्त्रिक पार्टी, गणतान्त्रिक पार्टी वा सहभागितामूलक लोकतन्त्रमा विश्वास गर्ने पार्टी जनआन्दोलनका उपलब्धिहरू गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विरोधी भएर अध्यक्ष मिश्रको प्रस्ताव वैचारिक द्विविधाको प्रस्ताव भएको निष्कर्ष निकालेका थिए। आजको नागरिक दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *