नेकपा एमालेद्वारा ९ वटा विभाग गठन, स्कूल विभागको प्रमुखमा अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेले ९ वटा विभाग गठन गरेको छ । सोमबार बसेको पार्टी स्थायी कमिटी बैठकले ९ वटा विभाग गठन गरेको हो । विभागमध्ये स्कूल विभागको प्रमुख अध्यक्ष केपी शर्मा ओलीलाई तोकिएको छ ।

स्कूल विभागमा ११ जना सदस्य चयन गरिएको छ । यस्तै, उपमहासचिव विष्णु पौडेललाई संगठन विभागको प्रमुखको जिम्मेवारी दिइएको छ । संगठन विभागमा १४ सदस्य रहने जनाइएको छ । संसदीय विभागको प्रमुख सुवास नेम्वाङलाई बनाइएको छ ।

आर्थिक विभाग प्रमुखको जिम्मेवारी विष्णु रिमाललाई दिइएको छ । १५ सदस्यीय प्रचार विभागको प्रमुख प्रदीप ज्ञवाली, १४ सदस्यीय पर्यटन प्रवद्र्धन विभागको प्रमुख भानुभक्त ढकाल, १४ सदस्यीय विदेश विभागको प्रमुख राजन भट्टराई, ६ सदस्यीय निर्वाचन विभागको प्रमुख अग्नि खरेल र १४ सदस्यीय स्थानीय तह विभागको प्रमुख देवेन्द्र दाहाललाई बनाइएको छ । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बाँकी विभाग पछि गठन गरिने बताए ।

एमालेले आगामी साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीको आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान अधिवेशनामा प्रस्तुत हुने प्रस्तावबारे छलफल गर्न केन्द्रिय समिति बैठक बोलाउने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । त्यसको दुई दिन अघि साउन २२ गते पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित रहेर अनौपचारिक छलफल गर्ने निर्णय पनि भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

एमालेले पार्टीको नीति निर्माणका लागि विधान अधिवेशन बोलाउन लागिएको पनि स्पष्ट पारेको छ । प्रवक्ता ज्ञवालीका अनुसार त्यसपछि आयोजना हुने राष्ट्रिय अधिवेशनले पार्टीको नेतृत्व चयन गर्नेछ । एमालेले पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि आगामी असोज ३ गते वडा अधिवेशन र असोज ९ गते पालिका स्तरीय अधिवेशन गर्ने निर्णय पनि यस अघिनै गरिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *