इजरायली ट्याङ्करमा इरानको हमला, उचित जवाफ दिने वेलायत र अमेरिकाको चेतावनी

वेलायत र अमेरिकाले ओमानी तटमा रहेको इजरायलद्वारा सञ्चालित एउटा तेल ट्याङ्करमा दुई जनाको ज्यान जानेगरी भएको हमलामा इरानको हात रहेको आफूहरूलाई विश्वास लागेको बताएका छन् ।

उनीहरूले घटना अन्तर्राष्ट्रिय कानुन विपरीत भएको भन्दै त्यसको जवाफ दिइने बताए । इरानले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । इजरायलको स्वामित्वको कम्पनीले सञ्चालन गरिरहेको एमभी मर्सर स्ट्रिट नामक उक्त ट्याङ्करमा बिहीबार  ओमानी तटमा आक्रमण भएको थियो ।

त्यस क्रममा एक जना ब्रिटिश र एक जना रुमेनियाली नागरिक मारिएका थिए । इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले उक्त घटनामा आफ्नो चिरकालीन शत्रु इरानको हात रहेको प्रमाण रहेको बताएपछि अमेरिका र वेलायतको यस्तो वक्तव्य आएको हो । तेहरानले चाहिँ आधारहीन आरोप भन्दै उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

उक्त ट्याङ्करमा भएको हमला इजरेल र इरान बीचको अघोषित छदम् युद्धमा तनाव बढाउने पछिल्लो घटनाका रूपमा देखापरेको छ । गत मार्चदेखि इजरायल र इरानद्वारा सञ्चालित कैयौँ पानी जहाजहरूमा आक्रमण भएका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले वासिङ्टन पनि इरानले उक्त घटना गराएकोमा विश्वस्त रहेको बताएका छन् । उनले त्यसको उचित जवाफ दिइने बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *