कर्णालीमा वेपत्ता दम्पतीको अवस्था अझै अज्ञात

कैलाली, साउन १७ । कर्णाली नदीमा जिप खसेर शुक्रबार बेपत्ता भएका एक दम्पत्तीको अवस्था अझै अज्ञात छ। इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार उनीहरू चढेको बा ११ च ९३८ नम्बरको जिप नदीभित्र क्षतविक्षत अवस्थामा भेटिएको छ। जिपको अगाडीको भाग अझै नदी बाहिर निकाल्न नसकिएको प्रहरी निरिक्षक पुष्कर पन्तले जानकारी दिए।

उनले नदीको उच्च वहाब र धमिलो पानीका कारण खोजी कार्यमा समस्या भइरहेको बताए। गोताखोरको माध्यमबाट दम्पत्तीको खोजी कार्य भइरहेको छ। ‘खोजी कार्य भइरहेको छ,’ उनले भने, ‘गोताखोरले पानी धमिलो भएकाले कठिन भइरहेको बताएका छन्।’

डोटीको आदर्श गाउँपालिका–३ काँडेका चन्द्रप्रकाश जोशी र उनकी पत्नी रूबी जोशी जिपसँगै कर्णाली नदीमा खसेका थिए। उनीहरू कर्णाली चिसापानीबाट करिब साढे तीन किलोमिटर उत्तर मोहन्याल गाउँपालिका–७ बतासे डाडाँबाट नदीमा खसेको प्रहरीले जानकारी दिएको छ। उनीहरूसँगै जिपमा रहेका तीन बालबालिका भने घाइते अवस्थामा नदी किनारमा भेटिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *