प्रज्जवल थापा । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका राफा मिरले ह्याट्रिक पूरा गरेपछि स्पेनको युवा टोली टोकियो ओलम्पिक–२०२० अन्तर्गतको पुरुष फूटबलको सेमिफाइनलमा पुगेको छ । शनिबार दिउँसो भएको क्वाटरफाइनल खेलमा इभरिकोस्टलाई अतिरिक्त समयमा ५–२ गोलले हराउँदै स्पेन ओलम्पिकको सेमिफाइनलमा प्रवेश गरेको हो ।
मियागि रंगशालामा भएको खेलमा स्पेनलाई जित दिलाउन राफा मिरले ह्याट्रिक पूरा गर्दा मिकेल ओयार्जाबाल र डानियल ओल्मोले एक/एक गोल गरे । इभरिकोस्टको लागि इरिक बेली र म्याक्स– एलाइन ग्राडेलले समान १/१ गोल गरे । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयममा धकेलिएको खेलमा स्पेन ३ गोल थप्दै विजयी भयो ।
खेलमा शुरुवाती अग्रता भने इभरिकोस्टले लिएको थियो । पहिलो हाफको दसौं मिनेटमा ग्राडेलको पासमा बेलीले गोल गर्दै इभरिकोस्टलाई खेलमा अग्रता दिलाएका थिए । ३० औं मिनेटमा मिरान्डाको पासमा ओल्मोले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा ल्याए ।
दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा ग्राडेलले गोल गर्दै इभरिकोस्टलाई जित नजिक पुर्याएका थिए । तर अतिरिक्त समयको तेस्रो मिनेटमै स्पेनका राफा मिरले मैदान छिरेको १ मिनेट बित्न नपाउँदै गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयको ९८ औं मिनेटमा ओयार्जाबालले पेनाल्टीमा गोल गर्दै स्पेनलाई ३–२ गोलको अग्रता दिलाए । १ सय १७ औं मिनेटमा ओल्मोको पासमा राफा मिरले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए ।
यस्तै अतिरिक्त समयको अन्तिम मिनेटमा ओयार्जाबालको पासमा राफा मिरले गोल गर्दै ह्याट्रिक पूरा गरेर स्पेनलाई ५–२ गोलको जित दिलाए । अब स्पेनले फाइनल प्रवेशको लागि जापान र न्युजिल्यान्डबीच हुने क्वाटरफाइनल खेलको विजेतासँग खेल्नेछ ।