खीर खाने दिन ७५ प्रतिशत बढी दूध बिक्री

काठमाडौं। साउन १५ अर्थात् खीर खाने दिन । परम्परादेखि खीर खाने दिनका रूपमा मनाउँदै आएको यो दिन अर्थात् साउन १५ लाई खीर दिवसका रूपमा मनाउने सरकारले घोषणा गरेको छ । खीर खाने दिन भएको हुनाले अरू दिनको तुलनामा ७५ प्रतिशत बढी दूध बिक्री भएको छ ।

अरू दिन छदेखि सात लाख लिटर बिक्री हुने दूध साउन १५ दिनको दिन २० देखि २१ लाख लिटर बिक्री भएको डेरी एसोसिएसनका नेपालमा अध्यक्ष राधाकृष्ण सापकोटाले जानकारी दिए । कोरोना महामारीअघि दैनिक करिब १० लाख लिटर दूध बिक्री हुन्थ्यो । कोरोना महामारी सुरु भएपछि दैनिक छदेखि सात लाख लिटरभन्दा बढी बिक्री भएको छैन । साउन १५ का दिन २० लाख लिटरभन्दा बढी दूध बिक्री भएको उनले बताए ।

“कोरोना सुरु भएपछि दूध तथा दुग्ध पदार्थ बिक्री हुने दिन असार १५ र साउन १५ नै हो,” उनले भने “कोरोना नहुँदा विवाह, व्रतबन्ध, चाडपर्वमा निकै बिक्री हुन्थ्यो तर कोरोना सुरु भएपछि चाडपर्व, विवाह, व्रतबन्धमा पनि बिक्री हुन छाडेको छ । अघिपछिभन्दा असार १५ र साउन १५ मा बढी बिक्री भएको छ । ” असार १५ मा दोब्बरभन्दा बढी दही बिक्री हुने गरेको उनले बताए ।

दुग्ध विकास संस्था (डीडीसी)ले साउन १५ मा देशभरि एक लाख ९२ हजार लिटर दूध बिक्री गरेको छ । अन्य सामान्य दिनमा ९९ हजार ५०० लिटर बिक्री हुने गरेको डीडीसीका बजार व्यवस्थापन प्रमुख सञ्जिव झाले बताए । कोरोनाअघि एक लाख लिटरको हाराहारीमा काठमाडौँ उपत्यकामै बिक्री हुन्थ्यो तर कोरोना महामारी सुरु भएपछि अहिले २५ देखि ३० प्रतिशत बिक्री घटेको उनले बताए।

दूध तथा दूग्धजन्य पदार्थ बिक्री वितरणमा वृद्धि गराउनका लागि खीर खाने दिनलाई विशेष दिनका रूपमा मनाउनका लागि खीर दिवस घोषणा गरिएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले बताए । उनले खीर परम्परादेखि खाइँदै आएको हो तर यसलाई विशेष रूपमा मनाउन थालेपछि दूध तथ दुग्धजन्य पदार्थको बिक्रीमा वृद्धि हुने विश्वास आफूहरूले लिएको बताए।

बोर्डद्वारा खीर दिवसको उपलक्ष्यमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा उनले भने, “एक दिन दिवस मनाएर खीर खाँदैमा हुने बिक्रीले केही हुँदैन । ” दैनिक रूपमा कसरी खीर खाने, उपभोक्ता त्यसप्रति कसरी आकर्षित हुने भन्ने किसिमका कार्यक्रम गर्ने उनल बताए । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *