बङ्गलादेशमा घटेन सङ्क्रमण, एकै दिन १५ हजारभन्दा बढी सङ्क्रमित

बङ्गलादेशमा हरेक दिन कोरोना सङ्क्रमितहरु भेटिने क्रम बढ्दै गएको देखिएको छ । बङ्गलादेशका अधिकारीहरुले दिएको जानकारीअनुसार बिहीबार मात्र १५ हजारभन्दा बढी सङ्क्रमितहरु भेटिएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले बङ्गलादेशमा २४ घन्टाको बीचमा यतिधेरै सङ्क्रमितहरु भेटिएको यो दोस्रोपटक हो भनेको छ ।

यसअघि यहाँ जुलाई २८ मा एकै दिन १६ हजार जना सङ्क्रमित भेटिएका थिए । त्यस दिन यहाँका २५८ जनाको यही सङ्क्रमणबाट ज्यान पनि गएको थियो । त्यसैगरी बिहीबार मात्र यहाँका २३९ जनाको कोभिड सङ्क्रमणकै कारण ज्यान पनि गएको छ । योसमेत गरी यहाँ २० हजार २५५ जनाको यो सङ्क्रमणबाट ज्यान गएको पाइएको छ ।

बङ्गलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ अहिलेसम्ममा १२ लाख २६ हजार २५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अधिकारीहरुका अनुसार यहाँ कोभिडका कारण मृत्यु हुने दर १.६५ प्रतिशत रहेको छ ।

त्यसैगरी यहाँको निको हुने दर ८५.६ प्रतिशत रहेको छ । यहाँको सरकारले गएको महिना दिनभन्दा लामो समयदेखि यहाँ देशव्यापी रुपमा लकडाउनको व्यवस्था गरेको छ । कोरोना भाइरस नघटेपछि यहाँ लकडाउन कायम गरिएको हो । तर पनि पछिल्लो महिना यहाँ देशव्यापी रुपमा लकडाउन गरिएको भए पनि कोरोना भाइरसको सङ्क्रमण भने घटेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *