बहुमूल्य धर्मग्रन्थ भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । बौद्ध धर्मको पुरातात्विक धार्मिक महत्वको बहुमूल्य धर्मग्रन्थ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले बुधबार दुई जनालाई काठमाडौं महानगरपालिका वडा नम्बर २२ न्यूरोडबाट पक्राउ गरेको हो ।

प्रहरीले सप्तरी राजविराज नगरपालिका वडा नम्बर ३ का ४७ वर्षीय प्रशान्तप्रताप सिंह र दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर ४का ६५ वर्षीय छन्त्याल भन्ने पूर्णबहादुर मगरलाई पक्राउ गरेको हो ।

यसरी ठगीमा पाँच जनाको संलग्नता रहेको महाशाखाले जनाएको छ । रोल्पा लिवाङ नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय बेगम रानामगर, रोल्पा नगरपालिका–८ का ३७ वर्षीय डम्मर पुनमगर र ३७ वर्षीय रामचन्द्र राना मगर फरार छन् । उनीहरूले चार करोडको धार्मिक ग्रन्थ किन्न लागेको भन्दै पीडितहरूबाट झुक्याएर पैसा लिएका थिए ।

उनीहरूले काठमाडौंको इचंगुनारायण बस्ने २८ वर्षीय भीमबहादुर डाँगीलाई चार करोडको पुस्तक किन्न लागेको र पैसा नपुगेको सुनाएका थिए । त्यसरी विश्वासमा लिएपछि डाँगीबाट उनीहरूले तीन लाख ५ हजार रूपैयाँ लिएका थिए ।

त्यसरी नै उनीहरूले स्याङ्जा वालिङ नगरपालिका–६ घर भई काठमाडौं–७ सरस्वतीनगर बस्ने ४२ वर्षीय बिष्णुप्रसाद अर्यालबाट १२ लाख रूपैयाँ लिएका थिए । त्यसरी आफूहरूलाई ठगी गरेको भन्ने जाहेरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर टेकु पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *