गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचनलाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस

काठमाडौं । सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रमुखहरु परिवर्तनको सिफारिस गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले चितवनका पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को उक्त सिफारिससँगै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद साह पदमुक्तको प्रक्रियामा गएका छन् । शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए ।

अघिल्लो सरकारले उनलाई पदमुक्त गरेको थियो । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका शेरचनलाई नेकपा माओवादी केन्द्रले प्रदेश प्रमुखमा सिफारिस गरेको हो । यस्तै गुरुङ नेपाली कांग्रेस चितवनका पूर्वसभापति हुन् ।

बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल र सदस्यद्वयमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले यही साउन २६ गतेदेखि लागू हुने गरी नेपाली सेनाका बलाधिकृत रथि प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिमा मुकरर गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा उमेर हदका कारण यसै महिना सेवाबाट निवृत्त हुँदैछन् । यसैगरी बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद्बाट भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *