चैतसम्म तीन करोड मात्रा खोप आउने

काठमाडौं। सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले यस्तो तयारी थालेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले आगामी असोजदेखि चैतसम्म तीन करोड २३ लाख मात्रा खोप ल्याउने गरी तयारी अगाडि बढेको जानकारी दिए ।
उनका अनुसार बालबालिकाका लागि ६० लाख मात्रा कोरोनाविरुद्धको खोपका लागि प्रक्रिया अगाडि बढाएको छ ।

१२ वर्षदेखि माथि उमेरका लागि समेत खोप ल्याउने प्रक्रिया अगाडि बढाइएको उनले बताए । संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा डा लोहनीले खोपबारे सम्बन्धित देशबाट सकारात्मक सन्देश आएको जानकारी दिएका छन् ।

त्यसबारे डा लोहनीले थप स्पष्ट पार्दै भने, “असोजदेखि चैतसम्म तीन करोड खोप आउने गरी काम अगाडि बढाइएको छ । जुन देशमा नेपालले खोप ल्याउनका लागि पहल अगाडि बढाएको छ, ती देशबाट सकारात्मक सन्देश आएकाले खोप आउनेछ ।”

अघिल्लो सरकारले कुल जनसङ्ख्याको ७२ प्रतिशत जनसङ्ख्यालाई खोपको प्राथमिकतामा पारेको भए पनि त्यसमा बालबालिका परेका थिएनन् । अहिले १२ देखि १८ वर्षसम्मका ४९ लाख बालबालिकासमेत गरी दुई करोड ६४ लाख जनालाई खोप दिने लक्ष्यले अब खोपको दायरामा बालबालिकासमेत परेका छन् ।

असोज मसान्तभित्रै एक करोड पाँच लाख ४८ हजार मात्रा खोप आइसक्नेछ र त्यसले देशको एक तिहाइ जनसङ्ख्यालाई समेट्छ । डा लोहनीले जापानबाट १६ लाख मात्रा एक्स्ट्राजेनिका खोप भदौको पहिलो साता नेपाल आइपुग्ने बताए । यस्तै कोभ्याक्सबाटै तीन लाख ४८ हजार डोज खोप भदौको चौथो साता नेपाल आइपुग्नेछ । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *