बिपी प्रतिष्ठानः लेखाप्रमुखको अभद्र व्यवहारबारे छानबिन समिति गठन

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुखले एक जना डाक्टरलाई गालीगलोज तथा अभद्र व्यवहार गरेको भन्दै आन्दोलनमा उत्रिएका जुनियर रेजिडेन्टहरू नियमित काममा फर्किएका छन्।

घटनाबारे प्रतिष्ठानले छानविन समिति गठन गरेर कारबाही गर्ने साथै आरोपित लेखा प्रमुख कमल रायमाझीले माफी मागेर भविष्यमा यस्तो घटना नदोहोर्‍याउने प्रतिबद्धता जनाउनेलगायत विषयमा सहमति भएपछि जुनियर रेजिडेन्टहरू काममा फर्किएका हुन्।

घटनाको विरोधमा जुनियर रेजिडेन्टहरूले कोभिड अस्पताल र इमर्जेन्सीबाहेक सबै सेवा बहिष्कार गरेपछि उपचार सेवा प्रभावित भएको थियो। संयुक्त संघर्ष समितिको आन्दोलनबाहेक जुनियर रेजिडेन्टहरूले सेवा बहिष्कारको थप आन्दोलन चर्काएपछि प्रतिष्ठान पदाधिकारीले जेआरहरूसँग वार्ता थालेका थिए।

प्रतिष्ठान पदाधिकारी र जुनियर रेजिडेन्ट (जेआर), कर्मचारी प्रतिनिधिबीच बुधबार र बिहीबार निरन्तर वार्ता भएको थियो। बिहीबार बिहान ९ बजेदेखि विभिन्न चरणमा भएको वार्ता राति ९ बजेतिर मात्र निष्कर्षमा पुगेको थियो। सो वार्तामा संलग्न पदाधिकारी, कर्मचारी र जुनियर रेजिडेन्टहरूले लेखा प्रमुख रायमाझीले गल्ती गरेको र कारबाही हुनुपर्ने निष्कर्ष निकालेको जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीले जनाएको छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *