काठमाडौं । सरकारले बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको काम दुई महिनापछि सुरु गर्ने कार्ययोजना तयार परेको छ।
मेलम्ची खानेपानी विकास समितिले बाढीपहिरोले क्षतिग्रस्त पहुँचमार्ग तयार भएको खण्डमा असोज दोस्रो सातादेखि मेलम्चीको हेडवक्र्स क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा माटो लगायत गेग्रान हटाउने काम सुरु गर्ने तयारी गरेको छ। अहिले मेलम्ची नदीको बहावमा कमी नआएको र आयोजनाको हेडवक्र्स अम्बाथानसम्म जाने पहुँचमार्ग समेत नहुँदा यो आयोजनाको भविष्य नै अन्योलमा धकेलिएको छ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठ बाढीपहिरोले मेलम्चीको आठ किलोमिटर पहुँचमार्ग र पाँचवटा पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएकाले पहुँचमार्ग निर्माण नगरेसम्म हेडवक्र्स पुग्नै नसकिने बताउँछन्। ‘बाढीपहिरोले मेलम्चीको आठ किलोमिटर पहुँचमार्ग क्षतविक्षत बनाएको छ,’ उनले भने, ‘अहिले हेलिकप्टर चढेर वा आठ किलोमिटर हिँडेर मात्रै आयोजनामा पुग्न सक्ने अवस्था छ । मेलम्ची आयोजनाको हेडवक्र्स क्षेत्रको काम गर्नको लागि सुरुआती चरणमा आठ किलोमिटर पहुँचमार्ग र पाँचवटा पुल तयार पार्नुपर्ने अवस्था छ।’
कार्यकारी निर्देशक श्रेष्ठले सरकारले मन्त्रिपरिषद्बाटै निर्णय गरेर आयोजनाको एकीकृत कार्ययोजना बनाएर तत्कालै काम सुरुआत गर्नुपर्ने आवश्यकता देख्छन्। ‘अहिले मेलम्ची आयोजनामा देखिएको समस्या एउटा निकायले मात्रै समाधान गर्न खोज्दा धेरै समय लाग्न सक्छ। त्यसैले सरकारले विभिन्न सरकारी निकायलाई छुट्टाछुट्टै जिम्मेवारी दिएर राष्ट्रिय गौरवको आयोजनालाई अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ,’ उनले भने, ‘सबै निकाय मिलेर अघि बढ्ने हो भने आगामी माघसम्म मेलम्चीको पानी उपत्यकामा खसाल्न सकिन्छ होला।’
समितिले तयार पारेको कार्ययोजनामा असोजको पहिलो साताबाट पहुँचमार्गको काम सुरु गर्ने उल्लेख छ। समितिले असोजको दोस्रो साताबाट हेडवक्र्स क्षेत्रको ढुंगा, गिट्टी, बालुवा र माटो हटाउन थाल्नेछ। मेलम्ची नदीमा गत जेठ मसान्तमा बाढीपहिरोसँगै आएको बालुवा, गिट्टीसहितको ग्रेगानको कारणले हेडवक्र्समा रहेका संरचनाहरू करिब १५ मिटरभन्दा धेरै पुरिएको छ। मेलम्ची आयोजनाको पहुँचमार्गमा रहेका दुई र हेडवक्र्ससँगै रहेका तीन गरी पाँचवटा पुलमा क्षति पुगेको छ। मेलम्ची नदीको पानी पथान्तरणको लागि प्रयोग गरिएको अस्थायी बाँधसमेत बाढीपहिरोबाट पूर्ण रूपमा क्षति भएको छ। नागरिक दैनिकबाट