४३ औं पुष्पलाल स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

स्मृति दिवसको अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहीबार एक कार्यक्रम आयोजना गरेको छ । दिउँसो एक बजे आयोजना हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी हुने बताइएको छ ।

रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए ।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो । २००५ सालमा पुष्पलालले मार्क्स र एंगेल्सद्वारा लिखित विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपालीमा उल्था गरेका थिए । त्यसको एक वर्षपछि २००६ सालमा उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गरेका थिए । पुष्पलाल नेकपाको संस्थापक महासचिव हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *