निसानका पूर्वप्रमुखलाई भाग्न सघाएको अभियोगमा अमेरिकी बाबुछोरालाई जेल सजाय

निसान कम्पनीका पूर्वप्रमुख कार्लोस गोनलाई सन् २०१९ मा जापानबाट भाग्न सघाएको अभियोगमा एउटा स्थानीय अदालतले दुई अमेरिकी नागरिकलाई दोषी ठहर गरेको छ । उनीहरू बाबुछोरा हुन् । टोक्यो अदालतले अमेरिकी स्पेशल फोर्सेजका भूतपूर्व सैनिक माइकल टेलरलाई उक्त मुद्दामा दुई वर्ष र उनका छोरा पिटरलाई एक वर्ष आठ महिना जेल सजाय सुनाएको छ ।

जापानमा मुद्दा परेका गोनलाई एउटा लगेज बाकसमा लुकाएर निजी विमानबाट भगाएको आरोप लागेका यी दुई जनालाई अमेरिकाले सुपुर्दगी गरेको थियो । जापानी अभियोजनकर्ताहरूले माइकल टेलरलाई दुई वर्ष १० महिना र पिटर टेलरलाई दुई वर्ष छ महिना कारागार पठाउनुपर्ने दाबी गरेका थिए ।

डिसेम्बर २०१९ मा गोनलाई पश्चिम जापानको कान्साई विमानस्थलबाट गोनलाई भगाउन योजना बनाएको आरोप टेलर बाबुछोरालाई लागेको थियो । त्यसका लागि उनीहरूले १३ लाख डलर पारिश्रमिक लिएको दाबी गरिएको थियो ।

उनीहरूले अभियोग स्वीकार गरेका थिए तथा आफूले गरेको कामप्रति पश्चात्ताप व्यक्त गरेका थिए । माइकल टेलरले अमेरिकामा निजी सुरक्षासम्बन्धी विशेषज्ञको काम गर्ने गरेका थिए ।

उनी र उनका छोरा पिटरले आफूहरूलाई जापानलाई हस्तान्तरण नगरियोस् भनेर कानुनी प्रयास पनि गरे । तर गत मार्चमा अमेरिकी सर्वोच्च अदालतले उनीहरूलाई जापानी अधिकारीहरूसमक्ष बुझाउनुपर्ने निर्णय सुनाएको थियो ।

निसान कम्पनीका पूर्वप्रमुखलाई अहिले अन्तर्राष्ट्रिय भगौडा मानिएको छ । उनी लेबननमा आफूले बाल्यकाल बिताएको घरमा बसिरहेका छन् । लेबनन र जापानबीच सुपर्दगी सन्धि भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *