३१ जिल्लामा विद्यालय पुनर्निर्माण बाँकी व्यवस्थापनको जिम्मा शिक्षा एकाइलाई

काठमाडौं । आगामी पुस ९ गते राष्ट्रिय पुनर्निमाण प्राधिकरणको कार्यावधि सकिँदैछ। यो आर्थिक वर्षको बजेटमा कुनै पनि थप कार्यक्रम नभएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३१ जिल्लामा रहेको जिल्ला आयोजना कार्यालय एकाइ ९शिक्षा० लाई ३१ वटा जिल्ला शिक्षा विकास तथा समन्वय एकाइभित्र व्यवस्थापन गर्न निर्देशन जारी गरेको छ।

मन्त्रालयका अधिकृत एकराज आचार्यको हस्ताक्षरसहित जारी निर्देशनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सिंहदरबार र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० लाई बोधार्थ जनाई साउन १ गतेदेखि कार्यान्वयन हुनेगरी कार्यालय व्यवस्थापन गर्न निर्देशन जारी गरिएको छ। भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि स्थापित आयोजना एकाइहरू भूकम्पबाट प्रभावित ३१ जिल्लामा हाल घर भाडामा लिई कार्यालय सञ्चालन हुँदै आएको छ।

केन्द्रीय आयोजना प्रमुख रामशरण सापकोटाले आयोजनाले २०७८ असार मसान्तभित्र सबै विद्यालय तथा कलेज पुनर्निमाण कार्य सम्पन्न गर्ने लक्ष्य लिए पनि कोभिड–१९ र केही दातृ निकायले समयमै रकमको सुनिश्चितता नगरेकाले कार्यसम्पन्न गर्न ढिलाइ हुन गएको बताए।

उनले पुससम्मका लागि जिल्लामा भएको शिक्षा विकास तथा समन्वय एकाइको कार्यालयमै व्यवस्थापन गरी शिक्षा मन्त्रालयअन्तर्गत रही बाँकी काम सक्ने योजना रहेको बताए।

आयोजना एकाइ प्रमुख सापकोटाका अनुसार भूकम्पका कारण अर्घाखाँची, बागलुङ, भक्तपुर, भोजपुर, चितवन, धादिङ, धनकुटा, दोलखा, गोरखा, गुल्मी, कास्की, काठमाडौं, काभ्रेपलाञ्चोक, खोटाङ, ललितपुर, लम्जुङ, मकवानपुर, म्याग्दी, पूर्वी नवलपरासी, नुवाकोट, ओखलढुंगा, पाल्पा, पर्वत, रामेछाप, रसुवा, संखुवासभा, सिन्धुली, सिन्धुपाल्चोक, सोलुखुम्बु, स्याङ्जा र तनहुँ गरी ३१ जिल्लाका ७ हजार ७ सय ५३ विद्यालयमा पूर्ण रूपमा क्षति पुगेको थियो।नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *