प्रधानमन्त्री देउवाद्वारा संसदमा विश्वासको मत प्राप्त, पक्षमा १६५ मत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत प्राप्त गरेका छन् । आइतबार प्रतिनिधिसभामा भएको मत विभाजनमा देउवाले विश्वासको मत प्राप्त गरेका हुन् ।

देउवाका पक्षमा १६५ मत परेको थियो भने विपक्षमा ८३ मत परेको थियो । मत विभाजनका क्रममा प्रतिनिधिसभामा २४९ सांसद उपस्थित भएका थिए । त्यस्तै जना सांसद एक जना तटस्थ बसेका थिए ।

देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् । देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् । प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेसँगै यो संसदले पूरा अवधि काम गर्न पाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *