USAID

चितवन र मुस्ताङमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु


चितवन । चितवन र मुस्ताङमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ५ कैलाशनगरका ३४ वर्षीय सन्दीप मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ना४त ३१५२ नम्बरको ट्याक्टर पल्टिँदा ट्याक्टर चालक मगर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठिनीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु, चार घाइते
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी खोलामा मालबाहक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै गरेको ग१ख ६८५२ नम्बरको ट्रक ठिनी खोलामा अवस्थित कच्ची काठेपुल भत्किँदा आइतबार बिहान दुर्घटना भएको थियो । ट्रकमा सातजना सवार रहेका बताइएको छ ।

मृत्यु हुनेमा रामेछाप जिल्ला गोकुल गङ्गा गाउँपालिका–१ बस्ने अन्दाजी ३८ वर्षीय चित्रबहादुर श्रेष्ठ र उनकी श्रीमती अन्दाजी २६ वर्षीया मोनिका श्रेष्ठ रहेका जिल्ला ट्राफिक कार्यालय मुस्ताङका प्रहरी सहायक निरीक्षक जीतबहादुर केसीले जानकारी दिए ।

नवलपरासी जिल्ला विनय त्रिवेणी गाउँपालिका–३ बस्ने ट्रक चालक ३६ वर्षीय शिवराम ठाडा मगर सामान्य अवस्थामा रहेका उनले बताए । चालकलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

घाइते हुनेमा बागलुङ जिल्ला ढोरपाटन नगरपालिका– २ बस्ने २२ वर्षीय सुशील घर्तीमगर, २५ वर्षीय लुद्रबहादुर कामी रहेका छन् । उनीहरु मजदूरीका लागि मुस्ताङ पुगेका थिए । त्यसैगरी पर्वत जिल्ला जलजला गाउँपालिका–४ का १८ वर्षीय सहचालक दिनेश दर्जी र ओखलढुङ्गा जिल्ला सिन्चीदोम्बा गाउँपालिका–७ बस्ने अन्दाजी २९ वर्षीय दावा शेर्पा छन् ।

उनीहरुको जोमसोम जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको ट्राफिक कार्यालयले जनाएको छ । ट्रकमा १०० बोरा सिमेन्ट, चार थान प्लाइउड र ५० वटा फलामको ट्रस पाइप रहेको सहचालक दर्जीले जानकारी दिए । जीर्ण भएको काठको कच्ची पुलले ट्रकको भार थाम्न नसक्दा उक्त दुर्घटना भएको जनाइएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *