जनकपुरधाम । नेकपा माओवादी केन्द्र एक मन्त्री र एक राज्यमन्त्रीसहित प्रदेश दुई सरकारमा सहभागी भएको छ। नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश दुई सरकारमा माओवादी केन्द्रबाट भरतप्रसाद साह र रुवी कर्णले मन्त्री पदको शपथ लिएका हुन्। नवनियुक्त मन्त्री साहलाई प्रदेश प्रमुख राजेश झाले शपथ ग्रहण गराए। यस्तै, राज्यमन्त्री कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले शपथ ग्रहण गराएका हुन् ।
साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी दिइएको छ भने कर्णलाई आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो । माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउनका लागि जसपाबाट आन्तरिक मामिला तथा सञ्चारमन्त्री रहेका ज्ञानेन्द्र कुमार यादव र आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रहेका सरोजकुमार सिंहले आजै बिहान राजीनामा दिएका थिए ।
